प्रस, वीरगंज, २८ माघ/
उपराष्ट्रपति रामसहाय यादवले पूर्वाधारविना कुनै पनि स्वास्थ्य सेवा अधूरो हुने बताएका छन् । आइतवार नारायणी अस्पतालको मातृ तथा शिशु स्याहार वार्डको उद्घाटन गर्दै उनले देशकै पुरानो अस्पतालको रूपमा रहेको नारायणी अस्पतालमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै गएमा सर्वसाधारणलाई सहयोग पुग्ने उनको भनाइ थियो । उपराष्ट्रपति यादवले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा अहिले प्रतिस्पर्धाले गर्दा स्वास्थ्य सेवामा विकास हुँदै गएको तर तराई क्षेत्रमा तुलनात्मक हिसाबले कम विकास भइरहेकाले सबैजना मिलेर सहयोग गर्नुपर्ने उनले बताए । उनले अस्पताल व्यवस्थापकले गुणस्तरीय सेवा दिन आवश्यक पूर्वाधारसहित बिरामीलाई बस्ने, भेट्ने समय, शौचालय, सहज औषधि उपलब्ध गराउन निर्देशन दिए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सामाजिक उत्तरदायित्व अन्तर्गत सबै कलकारखानाले आम्दानीको केही अंश सहयोग गरेमा चाँडै मुलुकको विकास हुने बताए । उनले वीरगंजको लागि ट्रमा सेन्टर खोल्ने तयारी पूरा गरेको जानकारी गराए ।
वीरगंज पनि स्वास्थ्य क्ष्Fेत्रमा अगाडि बढ्दै गएकोमा खुशी व्यक्त गर्दै ट्रमा सेन्टरको लागि आवश्यक परे वीरगंज चिनी कारखानाको जग्गा उपलब्ध गराउने बताए । उनले सबै काम पूरा भइसकेको र चाँडै ट्रमा सेन्टर निर्माण कार्य अगाडि बढ्ने बताए ।
कन्साइ नेरोलेक पेन्ट, वीरगंज महानगरपालिका र नारायणी अस्पतालको संयुक्त सहयोगमा ४५ लाख रुपैयाँको लागतमा २० शøयाको सुविधासम्पन्न मातृ तथा शिशु स्याहार भवन सञ्चालनमा आएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेरोलेक पेन्टका प्रतिनिधि अशोक बैद, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सङ्घीय सांसद अजय चौरसिया, प्रदीप यादव, प्रभु हजरा, प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्री, श्याम पटेल, नगरप्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, अजय द्विवेदीलगायतको सहभागिता थियो ।