प्रस, वीरगंज, १८ मङ्सिर/
जेसिबीको विक्रेता एमएडब्लु अर्थ मूभर्सले आफ्नो ग्राहकलाई ठगिरहेको समाचार प्राप्त भएको छ। अधिकांश ग्राहकलाई प्रलोभनमा पारी सामान बिक्री गरेपछि दुःख दिने गरेको त्रिभुवन कन्स्ट्रक्शनका सञ्चालक महेन्द्रप्रसाद चौहानले आरोप लगाए।
मेशिन खरीद गर्ने बेलामा ४० प्रतिशत नगद र पछि फाइनान्स गराइदिने प्रलोभन देखाएर जेसिबी बिक्री गर्ने र पछि ग्राहकलाई ताकेता गर्दै सादा चेक लिने र आफूखुशी बैंकबाट चेक बाउन्स गराउने गरेको तथ्य बाहिरिएको छ। कन्स्ट्रक्शनका सञ्चालक चौहानका अनुसार सेल्समैन नन्दकिशोर साहले रु ४२ लाख ८५ हजार पर्ने जेसिबी मेशिन बिक्री गर्न ४० प्रतिशत नगद र बाँकी रकम फाइनान्स गराइदिने प्रलोभन दिएको थियो।
चौहानले ९ लाख नगद तथा फाइनान्स गराइदिने भनी सेवा शुल्कबापत रु ३६ हजार ५ सय सेल्समैन साहलाई दिएको र बाँकी रकमबापत सादा चेक आफूले दिएको बताए।
समयावधि नबित्दै लकडाउन भएपछि अवस्था बिग्रेको र सोही अवधिमा कम्पनीका मैनेजर शिवकुमार दासले मेशिन घरबाट तानेर अरूलाई बिक्री गरेको चौहानले आरोप लगाए। चौहानले सिद्धार्थ बैंकमा रहेको आफ्नो खाताबाट सादा चेकमा रु २५ लाख र ८ लाख भरेर बाउन्स गराएकोले आफू मर्कामा परेको उनको आरोप थियो।
कार्यालयमा नपुग्दा हिसाब नगर्ने र आफ्नो जेसिबी अरूलाई बेचेपछि आफू घरको न घाटको भएको चौहानको भनाइ छ। यसबारेमा जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भएको थियो। छलफलको क्रममा सप्रजिअले १७० घण्टा जेसिबी चलेको र सोबापतको रकम कट्टा गरी रकम दिने वा जेसिबी फिर्ता गर्ने कम्पनीका प्रतिनिधिले सहीछाप गरेको देखिन्छ। तर सो कम्पनीले अहिलेसम्म हरहिसाब नगरेको र बाउन्स चेकविरुद्ध मुद्दा दिन्छु भन्दै धम्की दिएको चौहानको भनाइ छ।