मुआवजा दिन सुक्खा बन्दरगाहमा घरघडेरी नापजाँच

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ माघ/
वीरगंज महानगर–२५ श्रीसियास्थित सुक्खा बन्दरगाहको लागि ६२ बिघा जग्गा अधिग्रहण गरिएका व्यक्तिहरूलाई मुआवजा दिनको लागि अहिले घरघडेरी र स्ववासी जग्गाको नापजाँच शुरू भएको छ ।

श्रीसिया सुक्खा बन्दरगाहको लागि सरकारले थप ६२ बिघा जग्गा २०७२/७३ मा अधिग्रहण गरेको थियो । सो जग्गाको मुआवजा भने २०७७/७८ देखि दिन शुरू भएको हो । स्थानीयवासीले खेत र घरघडेरी जग्गाको एकै मूल्याङ्कन गरिएको भन्दै आपत्ति जनाएर विरोध गरेका थिए । यसैगरी, ६२ बिघामध्ये तीन बिघा जग्गाका धनीहरूसँग लालपुर्जा नभएको र उनीहरू स्ववासी जग्गामा हकभोग गरी बसेका हुँदा उनीहरूको लागि पनि मुआवजा उपलब्ध गराउनुपर्ने भन्दै आन्दोलन गरिएको थियो ।

तीन बिघा स्ववासी हकभोगमा करीब ७० जना मानिस छन् । निरन्तरको आन्दोलनपछि अर्थ मन्त्रालयले स्ववासी जग्गाको लालपुर्जा बनाउन पहल गर्ने र सोसहित घरघडेरीहरूको नयाँ नापजाँच गरी मुआवजा दिने निर्णय गरेको हुँदा अहिले नापजाँच शुरू भएको हो ।

अर्थ मन्त्रालयले स्ववासी तीन बिघा जग्गाको लागि ४० करोड र करीब तीन सय घरघडेरीधनीहरूलाई एक अर्ब ५० करोड रकम विनियोजन गरेको बुझिन आएको छ । यसअघि अर्थ मन्त्रालयले चार किस्तामा रु साढे तीन अर्ब मुआवजाबापत श्रीसिया सुक्खा बन्दरगाहवासीहरूलाई उपलब्ध गराइसकेको छ । यो रकम खेत अधिग्रहण गरिएका व्यक्तिहरूले बुझेका हुन् । अबका दिनमा नापजाँच भएपछि घरघडेरी र स्ववासी जग्गाधनीहरूले मुआवजा पाउने छन् । अधिग्रहणमा घर, प्रहरी चौकी, अस्पताल, वडा कार्यालय, विद्यालय, भवनलगायत परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।