दिनेश मिश्र, वीरगंज, २४ माघ/
वीरगंज महानगरपालिका–१२ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्राङ्गणमा मधेस विश्वविद्यालयले शुल्क नै नतिरी बस पार्किङ गरिरहेको छ ।
मधेस विश्वविद्यालयले १५ कट्ठा जग्गा लिजमा लिएर वार्षिक रु ४२ लाख ५२ हजार ६८३ भाडा तिर्ने सम्झौता गरेको कम्पनीका सूचना अधिकारी मुनीलाल कुशवाहाले बताए । सम्झौता अनुसार मधेस विश्वविद्यालयले भाडामा लिएको जग्गा तारबार छेकेर आप्mनो अधिनमा लिएको भएपनि एउटा बसलाई कम्पनीको हाताभित्र पार्किङ गरिरहेको छ । सोबापत भाडा नतिर्ने गरेको सूचना अधिकारी कुशवाहाले बताए ।
कम्पनीको हाताभित्र नेशनल हेल्थ केयरले बस पार्किङ गर्दा महीनाको १४ हजार ६४२ र वीरगंज कलेजले दुईवटा बस पाकिङ गर्दा महीनाको नौ हजार नौ सय भाडा शुल्क तिर्दै आएको सूचना अधिकारी कुशवाहाले बताए ।
कृषि सामग्री कम्पनीले पनि दुईवटा गोदाम भाडामा लिएर प्रयोग गर्दा प्रतिगोदामको भाडा रु ६२ हजार तिर्ने गरेको छ भने साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले सातवटा गोदाम भाडामा लिएकामा छवटा गोदामको प्रतिगोदाम भाडाबापत ६२ हजार १२ रुपियाँ र एउटाको रु ५१ हजार ७५० तिर्ने गरेको सूचना अधिकारी कुशवाहाले बताए । तर मधेस विश्वविद्यालयले एउटा बस कम्पनीको हातामा पार्किङ गरे पनि सोबापतको भाडा नतिर्ने गरेको सूचना अधिकारी कुशवाहाले बताए ।
कार्यालय प्रमुख पङ्कजकुमार झाले मधेस विश्वविद्यालयले १५ कट्ठा जग्गा भाडा लिएकोबाहेक जग्गामा गाडी पार्किङ गरेको बुझिन आएकोले यसबारेमा अविलम्ब कारबाई प्रक्रिया अगाडि बढाउने बताएका छन् ।