प्रस, वीरगंज, २२ माघ/
नेशनल मेडिकल कलेज वीरगंजमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलन सहमतिमा टुङ्गिएको छ । माघ २१ गते साँझ विद्यार्थी, कलेज प्रशासन र स्थानीय प्रहरी प्रशासनको रोहबरमा माग सम्बोधन गरिएको र सहमति भएपछि आन्दोलन टुङ्गिएको हो ।
सात सूत्रीय माग राखेर विद्यार्थीहरू माघ १४ गतेदेखि धर्ना, प्रदर्शन गर्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीहरूले होस्टलमा बस्नुपर्ने, क्यान्टिनमा खानुपर्ने, इन्टरनेट लिनुपर्ने विषय ऐच्छिकमा राख्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए । सात बुँदे माग अघि सार्दै मेडिकल कलेजका एमबिबिएस, पिजी, नर्सिङलगायत विभागमा अध्ययनरत सम्पूर्ण विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए ।
सहमतिपछि कलेजको क्यान्टिन र खाजाघर अनिवार्य गरिएको छैन र अब विद्यार्थीहरू बाहिर बस्न र बाहिर खान सक्ने त्रिविविको नियम अनुसारको सुविधा पाउने भएका छन् ।
सम्झौतापत्रमा कलेजको व्यवस्थापन पक्ष्Fबाट प्राडा केएम सिंह, सहायक क्याम्पस प्रमुख डा रविशङ्कर गुप्ता र ११ जना विद्यार्थीले हस्ताक्ष्Fर गरेका छन् भने रोहबरमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठ थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष डा जैनुद्दीन अन्सारीलगायतको सहभागिता थियो ।