प्रस, पर्सागढी, १७ मङ्सिर/
वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले गत वर्षसरह यस वर्ष पनि मोतीबिन्दु रोगीको शल्यक्रिया गर्ने लक्ष्य लिएर काम शुरू गरेको बताएका छन्।
पर्सागढी नगरपालिका–३ आमोदेवी जनता क्याम्पसमा माट्रिका आई फाउन्डेशनले आयोजना गरेको निश्शुल्क आँखा शिविरको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले सो कुरा बताएका हुन्। उनले आँखा शिविर कुनै पनि राजनीतिक अभीष्ट पूर्तिका लागि नभएर विशुद्ध समाजसेवा भएको बताए। उनले आफ्ना अग्रजहरू समाजसेवामा लागेका र उनीहरूबाट समाजसेवा गर्नुपर्ने कुरा सिकेर यो काम गरेको बताए। उनले पाँच हजार मानिसको आँखा परीक्षण गराउने र मोतीबिन्दुका रोगी जतिको निश्शुल्क शल्यक्रिया गरिने बताए।
गत वर्ष नगरप्रमुख सरावगी र फाउन्डेशनको संयुक्त आयोजनामा सयौं मोतीबिन्दु रोगीको शल्यक्रिया गरिएको थियो।
शिविरमा आँखा रोगीहरूको फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीलगायतले २५० जनाको आँखा परीक्षण गरेको र तीमध्ये १४० जना मोतीबिन्दु फेला परेको बताए।
शिविरमा सहभागी प्रभु अस्पताल वीरगंजकी मुटुरोग विशेषज्ञ डा राधा भट्टराई अर्यालले १७० जना रोगीको स्वास्थ्य परीक्ष्Fण गरेकी थिइन्।
शिविरमा पूर्वमन्त्री मोहनलाल चौधरी, जसपा, पर्साका अध्यक्ष रामनरेश यादव, वडासदस्य शेख फैयाज, क्याम्पसका अध्यक्ष्F बालकृष्ण श्रेष्ठ, पर्सा युवा क्लबका अध्यक्ष्F शेख समशाद, पन्नालाल पटेललगायतको सहभागिता थियो। शिविरमा जसपाका नगर संयोजक शेख खुर्शीद, विष्णुनारायण गैरेलगायतले सहयोग पु–याएका थिए।