प्रस, वीरगंज, १७, माघ/
प्याब्सन अन्तरविद्यालय जुनियर फूटबल प्रतियोगिताको उपाधि साउथजोन माविले जितेको छ ।
प्याब्सन वीरगंज महानगरको आयोजनामा मधेस प्रदेश विपद् व्यवस्थापन गुल्मको खेलमैदानमा बुधवार सम्पन्न फाइनल खेलमा लिटिल फ्लावर माविलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै साउथजोनले उपाधि जितेको हो । साउथजोनका कप्तान रितिक चौधरी र आयुष चौरसियाले एक/एक गोल गरेका थिए । रितिक चौधरीले पहिलो गोल गरेर साउथजोनलाई अग्रता दिलाएका थिए भने लिटिल फ्लावरका साहिल आलमले गोल फर्काएर बराबरी गरेका थिए । त्यसपछि साउथजोनका आयुष चौरसियाले गरेको गोल आजको फाइनल खेलको निर्णायक भयो । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ साउथ जोनका राहुल पञ्जियार भए ।
प्रतियोगितामा मनकामना मावि तेस्रो भयो । आजै भएको खेलमा सफल एकेडेमीलाई शून्यका विरुद्ध एक गोलअन्तरले मनकामना मावि तेस्रो घोषित भएको हो । यस खेलको ‘म्यान अफ दी म्याच’ मनकामनाका प्रिन्स मगर घोषित भए ।
प्रतियोगितामा साउथजोनका अङ्कित महतो उत्कृष्ट खेलाडी घोषित भए भने सफल एकेडेमीका विकेन्द्र चौधरी उत्कृष्ट गोलकीपर, लिटल फ्लावरका सवियो मगर उत्कृष्ट मिडफिल्डर र साउथजोनका रितिक चौधरी सर्वाधिक गोलकर्ता घोषित भए ।
विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, विशिष्ट अतिथि मधेस प्रदेश विपद् व्यवस्थापन गुल्मकी प्रमुख, प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ, खेलप्रेमी दिनानाथ रौनियार, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय नीरज पिठाकोटे र कृष्णउदास खनाल, एन प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठलगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, प्याब्सन वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा भूतपूर्व फूटबल खेलाडी दिनानाथ रौनियार र मनोज भट्टराईलाई दोसल्ला ओढाएर सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।