इएफटी प्रणालीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

ओमप्रकाश चौधरी, सेढवा, ११ माघ/
पर्साका अधिकांश स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता समयमा वितरण नहुँदा सेवाग्राहीहरूले समस्या भोग्नुपरेको छ । नेपाल सरकारले इएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति ल्याएपछि भत्ता वितरण गर्न ढिलाइ भएको बताइन्छ ।

चालू आव २०८०/८१ को दोस्रो किस्ता अर्थात् कात्तिक, मङ्सिर र पुस महीनाको सामाजिक सुरक्षा भत्ता माघ महीनाको दोस्रो सातासम्म वितरण हुन सकेको छैन । एकल महिला, वृद्धवृद्धा, अपाङ्ग र दलित बाल संरक्षण भत्ता वितरण नहुँदा समस्या भएको बताइन्छ ।

ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले नेपाल सरकारले इएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति ल्याएपछि भत्ता वितरण गर्न ढिलाइ भएको बताए ।

जगरनाथपुर गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले सामाजिक सुरक्षा भत्ता रकम छिटै सेवाग्राहीहरूको खातामा जाने बताए । इएफटी प्रणालीमा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले प्रत्यक्षरूपमा सेवाग्राहीको खातामा रकम पठाउनेगर्छ । यस प्रणालीमा भत्ता रकम गाउँपालिकाको खातामा नआउने र पालिकाले भत्ता रकम पठाउनु नपर्ने प्रावधान रहेको अधिकृत रायले बताए ।

पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईले नगरपालिकाभरिका ७७ जना सेवाग्राहीको बैंक खातामा केवाईसी (ग्राहकको जानकारी) अद्यावधिक नरहेकाले भत्ता रकम कोलेनिका, पर्साले नपठाएको बताए । बैंकले सेवाग्राहीहरूलाई आआफ्नो केवाइसी अद्यावधिक गर्न सूचना जारी गरिसकेको र सोपछि चाँडै भत्ता पठाइने अधिकृत भट्टराईले बताए ।

यसैगरी, सखुवाप्रसौनी गाउँपालिका–१ की एकल महिला असिया देवीले भत्ताकै भरमा परिवारको पालनपोषन नहुने भएपनि सो भत्ताबाट परिवारका धेरैजसो आवश्यकता पूरा हुने गरेको बताइन् । आर्थिक अवस्था सबल रहेका व्यक्तिलाई भत्ताको रकमको खासै आवश्यकता नभए पनि गरीब परिवारलाई समयमा भत्ता नपाउँदा समस्या हुने गरेको बताइन् । विगतमा यस किस्ताको भत्ता रकम माघी (खिचडी)भन्दा अगाडि नै भुक्तानी भएकोमा यसपटक माघ महीनाको दोस्रो साता बित्न लाग्दा पनि अत्तोपत्तो नभएको बताइन् ।

ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, धोबिनी गाउँपालिका, पर्सागढी नगरपालिका लगायतका स्थानीय तहहरूमा सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।

यस वर्ष शीतलहर चलेर कठ्याङ्ग्रिदो जाडो भएपछि समयमा भत्ता नपाउँदा समस्या भएको जीराभवानी गापा–३ का जोखन माझी मुसहरले बताए । आर्थिक अवस्था कमजोर रहेका मुसहरले समयमा भत्ता पाएको भए आफूलगायत परिवारका अन्य सदस्यहरूका लागि जाडो छल्न न्यानो कपडा खरीद गर्ने चाहना रहेको बताए । तर पैसा नै नपाउँदा चीसोमा जीवनयापन पनि कठिनपूर्ण भएको बताए । विगतमा जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाहरूले जाडो छल्न कम्बल दिने गरेकामा यसपटक कसैले कम्बल पनि नबाँडेको मुसहरले गुनासो गरे ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।