उपत्यकामा सवारी दुर्घटना : छ महीनामा ८८ जनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, ११ माघ/रासस
गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजीक हिमचुली सेतो पहरानजीक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियांश गौतम र छोरी स्मारिका गौतमको ज्यान गयो ।

बाटोको दुरवस्था र घुम्तीका कारण उक्त दुर्घटना भएको जनाइएको छ । लामो समयदेखि काठमाडौंबाट मकवानपुरको चित्लाङ जाने बाटो भए पनि अहिलेसम्म उक्त बाटो कालोपत्रे हुन सकेको छैन । यस्तै, गत वर्ष फागुन २४ गते साँझ काठमाडौंको शङ्करापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा ५० वर्षीय सञ्चारकर्मी पवनलाल श्रेष्ठको ज्यान गयो ।

साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा ५ख २४१४ नम्बरको टिपरले सञ्चारकर्मी श्रेष्ठले चलाएको बा ९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा श्रेष्ठको मृत्यु भएको हो । उनी राष्ट्रिय समाचार समिति (रासस)का पूर्व समाचारदातासमेत थिए ।

सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो । खड्काले चलाएको बा ८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । माथि उल्लिखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौं व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आपूmले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको इतिहास छ । यस्तै, जथाभावी सवारी साधन चलाउनु र बाटो काट्नुले पनि सवारी दुर्घटना बढेको पाइन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म ५,८६५ सवारी दुर्घटना हुँदा ८८ जनाले ज्यान गुमाउनुपरेको छ । यस्तै १४८ जना गम्भीर घाइते भएका छन् भने ४,४३८ जना सामान्य घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला काठमाडौं उपत्यकाभित्र जथभावी ढङ्गले दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको बताउँछन् । “उपत्यकाभित्र मोटरसाइकल तथा स्कुटर जथाभावी कुदाउने र पैदलयात्रुले पनि जथाभावी बाटो काट्दा बढी दुर्घटना भएको देखिन्छ”–उनी भन्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । “दुर्घटना कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गति नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिति जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनन्लगायत कुरामा विशेष निगरानी गर्दै आएका छौं”–उनी भन्छन् । साँघुरो बाटोमा तीव्र गतीमा सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।

ट्राफिक प्रहरीले चालू आवमा विभिन्न कसूरमा ४,५०,७२९ सवारी साधनलाई कारबाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १८,६२७ चालकलाई कारबाई गरेको छ । यस्तै, लेन अनुशासनमा २९,४०२, तीव्रगतिमा ६१,८४३ रातो बत्तीमा १३,३०७ पूmटपाथ सडक पार्किङमा ५९,८५७ बढी भाडामा २१४, नो हर्नमा ६,२७० ओभरलोडमा ३,३३७ सवारी साधनलाई कारबाई गरेको छ ।

मुलुकभर सवारी दुर्घटना बढेपछि सरकारले यातायात क्षेत्रको समग्र अवस्था अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ निर्माण गरेको थियो ।

उक्त कार्यदलले झन्डै एक वर्ष लगाएर मुलुकको यातायात क्षेत्रको समग्र अवस्था अध्ययन गरेर सरकारलाई सुझाव हस्तान्तरण गरिसकेको छ । उक्त कार्यदलको प्रतिवेदन अनुसार सडक यातायात दुर्घटनाको प्रमुख जोखिम क्षेत्र नै हो । नेपालमा प्रत्येक वर्ष करीब तीन हजार सर्वसाधारणको सवारी दुर्घटनामा परी ज्यान जाने गरको प्रतिवेदनले औंल्याएको छ । प्रत्येक दिन नेपालमा औसत आठ जनाको मुत्यु दुर्घटनाबाट भएको प्रतिवेदनमा उल्लेख छ । सडक दुर्घटनामा सबैभन्दा बढी कम उमेर समूह १५ देखि २९ वर्षसम्मका सर्वसाधारणको ज्यान जाने गरेको तथ्य पनि प्रतिवेदनमा छ । दुर्घटनामा संलग्न सवारी साधनमा मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५०.७२ प्रतिशत छ ।

दुर्घटनाबाट मृत्यु हुनेमा युवा समूह बढी रहेको उक्त तथ्याङ्कले पुष्टि गरेको छ । नेपालमा बर्सेनि सडक दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या ११ हजारभन्दा बढी रहेको छ । उक्त सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको प्रतिवेदनले औंल्याएको छ । काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् । “चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्”–उनी भन्छन् ।

काठमाडौं उपत्यकामा भने साँघुरो बाटो र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको उनको भनाइ छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्र (काठमाडौं, भक्तपुर र ललितपुर) को सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा १८०० ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र झन्डै १८ देखि २० लाख सवारी साधन सञ्चालनमा रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।