जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

टोकियो, ११ माघ/एएफपी
जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्ड गोप्य र ‘क्रूर’ तरीकाले हुने गरिएको भन्दै यस विधिको चर्काे आलोचना भने गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड दिंदा झुन्ड्याउने विधि नै प्रयोगमा ल्याइन्छ ।

सन् २०१९ मा क्योटोको एनिमे स्टुडियोमा ३६ जनाको ज्यान जानेगरी भएको आगजनीको अभियोगमा शिन्जी आओबालाई मृत्युदण्ड सुनाइएको छ ।

समूह (जी–७) का दुर्ई सदस्य जापान र संयुक्त राज्य अमेरिकामा मात्र मृत्युदण्ड कायम छ । जापानमा सन् २०१९ को सरकारी सर्वेक्षणले ८० प्रतिशत मानिसले मृत्युदण्ड ‘अपरिहार्य’ बताएको उल्लेख छ । १,५०० भन्दा बढी सहभागी उक्त सर्वेक्षणमा नौ प्रतिशत मात्र खारेज गर्ने पक्षमा थिए ।

मृत्युदण्डको समर्थन गर्नेमध्ये करीब ५७ प्रतिशतले मृत्युदण्ड खारेज भए पीडितले ‘कहिल्यै पनि राहत महसूस नगर्ने’ बताएका छन् ।

न्याय मन्त्रालयले दिएको जानकारी अनुसार डिसेम्बरसम्म १०७ जना कैदी मृत्युदण्ड कार्यान्वयनको पर्खाइमा थिए ।

आओबाले क्योटो जिल्ला अदालतले दिएको सजायविरुद्ध अपिल गर्न सक्छन् तर कानूनले अन्तिम फैसला भएको छ महीनाभित्र मृत्युदण्ड दिइसक्नुपर्ने व्यवस्था गरेको छ ।

तथापि अधिकांश कैदीहरूलाई कहिलेकाहीं दशकौंसम्म एकान्तवासमा राख्ने प्रचलन पनि छ । जापानको एकमात्र मृत्युदण्ड दिने विधि झुन्डाउनु नै हो । आँखामा पट्टी, खुट्टा र हात बाँधेर फाँसी दिइन्छ । धेरै जेल अधिकारीहरूले नजीकैको कोठामा एकसाथ बटन थिच्दा एउटा ट्र्यापडोर खुल्छ । कुन बटनले घातक संयन्त्रलाई ट्रिगर गर्छ भनेर कसैलाई पनि बताइएको हुँदैन ।

मृत्युदण्ड पाएका तीनजना कैदीले सन् २०२२ मा फाँसी दिने यो विधि ‘क्रूर’ भन्दै अन्त्यका लागि माग गरेका थिए ।

आलोचकहरूले फाँसीको प्रावधानले गलत मृत्युदण्डको सम्भावना राख्छ र यो लामो, पीडादायी मृत्युको कारण बन्ने तर्क गरेका छन् ।

पछिल्लोपटक सन् २०२२ को जुलाईमा तोमोहिरो काटोलाई फाँसी दिइएको थियो, जसले सन् २००८ मा टोकियोको अकिहाबारा जिल्लामा सातजना पैदल यात्रीलाई ट्रकले ठक्कर दिएर हत्या गरेका थिए ।

सन् २०१८ मा गुरु शोको आसाहारा र ओम शिन्रिक्यो कल्टका १२ जना पूर्व सदस्यलाई मृत्युदण्ड दिइएको थियो ।

सन् १९९५ मा टोकियोको सबवे प्रणालीमा सरीन ग्याँस आक्रमणको योजनाकार ओम शिनरिक्यो १३ जनाको मृत्यु र हजारौं बिरामी परेको आक्रमणका लागि दोषी ठहरिएका थिए ।

गत हप्ता २१ वर्षीय युवकलाई एक बालिकाका आमाबाबुको हत्या गरी घरमा आगो लगाएको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो ।

जापानमा सूचनाविना फाँसी दिइन्छ र यसको व्यापक आलोचना हुने गरेको छ । कैदीहरूलाई प्रायः अन्तिम समयमा र सामान्यतया बिहानको समय केही घण्टा अघि आसन्न मृत्युबारे सूचित गरिन्छ । मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टमा कसैकसैलाई मृत्युदण्डबारे अग्रीम चेतावनी पनि नदिने गरिएको उल्लेख छ ।

मृत्युदण्ड कहिले दिइने हो भन्ने थाहा नपाएर मनोवैज्ञानिक पीडाले गर्दा दुईजना कैदीले सन् २०२१ मा ‘ढिलो सूचना प्रणाली’ विरुद्ध मुद्दा दायर गरेका थिए ।

जापानमा परिवारका कुनै पनि सदस्यले कैदीहरूको अन्तिम क्षण (मृत्युदण्ड) मा साक्षी हुने प्रचलन छैन ।

मृत्युदण्डसम्बन्धी सार्वजनिक बहस पनि सीमित छ, अधिकारकर्मीहरूले राष्ट्रव्यापी छलफललाई उत्प्रेरित गर्न अधिकारीहरूद्वारा सूचना खुलासा गर्न आह्वान गरेका छन् । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।