बरहथवामा ऐलानी जग्गाको नापजाँच शुरू

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, ७ माघ/
सर्लाहीको बरहथवा नगरपालिकामा भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमीनको स्वामित्व दिलाउन ऐलानी जग्गा नापजाँच शुरू भएको छ ।

शनिवारदेखि बरहथवा नगरपालिका–१ बाट भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमीनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच शुरू गरिएको नपाले जनाएको छ । नगरप्रमुख कल्पनाकुमारी कटुवालले वडा नं १ बाट जग्गा नापजाँचको काम शुरू गरिएको बताइन् । उनले नगरपालिकाले राष्ट्रिय भूमि आयोग र नापी कार्यालयसँग समन्वय गरी जग्गा नापजाँच गरिरहेको बताइन् ।

नगरप्रमुख कटुवालले नगरका १८ वटै वडामा क्रमिकरूपमा काम अघि बढाउने बताइन् । जग्गा नापजाँचपश्चात् नक्शा प्रमाणीकरण गरेर जग्गाधनी पुर्जा दिइने उनले बताइन् ।

उपप्रमुख रामबाबूप्रसाद साहले जग्गा नापजाँचको काम अगाडि बढेसँगै नगरका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जमीनका मालिक बन्ने बताए ।

राष्ट्रिय भूमि आयोग, सर्लाहीका अध्यक्ष चन्द्रप्रसाद वाग्लेले बरहथवा नगरमा ऐलानी जमीन नापजाँच शुरू भएसँगै आयोगको कामकाज अघि बढेको बताए । भूमि आयोगको काम अघि बढेर कार्यान्वयनमा आएसँगै बरहथवामा साढे चार हजारभन्दा बढी परिवार जमीनको मालिक बन्ने उनले बताए ।

यसअघि ईश्वरपुर, हरिवन, लालबन्दी र बाग्मतीसहितका पालिकाको ऐलानी जमीन नापजाँच शुरू भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।