बलिराम शुक्ल, बिरुवागुठी, २ माघ/
अत्यधिक चीसो तथा शीतलहरका कारण पर्साका ग्रामीण भेगको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
केही दिनदेखि अत्यधिक चीसो हावा बढ्नुका साथै शीतलहरका कारण वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका अतिगरीब, विपन्न परिवारको जनजीवन कष्टकर बन्दै गइरहेको छ । चीसो हावाका कारण विशेष कामले घरबाहिर जानेहरूलाई समस्या हुन थालेको छ । त्यस्तै, बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरूलाई झनै समस्या भएको छ ।
दैनिक ज्यालादारी गरी परिवार पाल्दै आइरहेका अतिविपन्नहरू अत्यधिक चीसोका कारण काममा जान नपाउँदा परिवार पाल्न कठिनाइ भएको पर्सागढी नगरपालिका–३ का मजदूर शिवनाथ माझी बताउँछन् । उनले यस वर्ष न्यानो कपडा तथा दाउरा वितरण गर्न कोही नआएको गुनासो गरे ।
विपन्न परिवारलाई राहत दिन स्थानीय पालिकाले अहिलेसम्म तयारी गरेको देखिंदैन । पर्सागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले अत्यधिक चीसो बढेपछि दम, खोकी, निमोनिया, श्वासप्रश्वासका रोगी, शिशु तथा बालबालिकाहरूको शरीरको तापक्रम कम हुन गई स्वास्थ्यमा असर पर्ने बताए ।
उनले दीर्घरोगी र बालबालिकाहरूलाई न्यानो कपडा लगाउन, घरभित्र बस्न, मनतातो पानी सेवन गर्न, पोषिलो, झोलिलो खानेकुरा खान सुझाव दिए । उनले अत्यधिक चीसोका कारण रक्तनली सुक्ने तथा साँघुरो हुने हुँदा आगो ताप्न र मदिराको सेवन नगर्न सुझाव दिएका छन् ।