प्रस, परवानीपुर, २ माघ/
विन्ध्यवासिनी गाउँपालिका मङ्गलवार पूर्णखोप घोषणा भएको छ । प्रसौनीभाठास्थित मसरुर पब्लिक स्कूलमा आयोजित समारोहमा जिल्ला समन्वय समिति, पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति, पर्साका संयोजक निरञ्जनसाह सोनार र प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले संयुक्तरूपमा पूर्णखोप घोषणा गर्दै गापा अध्यक्ष प्रमोद तिवारीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा खोप समितिका संयोजक सोनारले पर्साका १४ वटा पालिकामध्ये १२औं नम्बरमा विन्ध्यवासिनी गापा पूर्णखोप घोषणा भएको र अब माघको अन्तिम साता धोबिनी र कालिकामाई गापा पनि पूर्णखोप गापा घोषणा गर्ने तयारी भइरहेको बताए । उनले आगामी चैत मसान्तसम्म पर्सा पूर्णखोप जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताए ।
घोषणाको लागि पुस २६ गते सर्वेक्षण गरी पाँच वर्षमुनिका बालबालिकाहरू कोही पनि खोप लगाउन नछुटेको भेटिएपछि पुस २८ गते पूर्णखोप जिल्ला घोषणाको लागि सिफारिश गरेको थियो ।
गापा अध्यक्ष प्रमोद तिवारीले कार्यक्रम २०७१ सालमैं शुरू भएको तर नौ वर्ष ढिला पालिका पूर्णखोप घोषणा भएकामा बालबालिकाको खोप लगाउने अधिकार पालिकामा सुनिश्चित भएको बताए । उनले पूर्णखोप घोषणा मात्रै गरेर नहुने भन्दै यसलाई दिगो रूप प्रदान गर्न पालिकामा जन्मिने बच्चा खोप सेवाबाट नछुटून् भन्नेतर्फ चनाखो हुनको लागि स्वास्थ्यकर्मीहरूले सेवालाई निरन्तरता दिनुपर्ने सुझाए । प्रजिअ भुसालले मानवजीवन र मानव अधिकारको दृष्टिकोणले स्वस्थ बालबालिका हुर्काउन र दक्ष जनशक्ति तयारीको लागि राज्यले खोपमा बर्सेनि करोडौं रकम खर्च गरेको बताए । उनले खोपको पहुँच सबैमा सहज बनाउनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले पूर्णखोप कार्यक्रम घोषणा भएपछि आगामी दिनमा अन्य व्यवस्थापनको विषयमा पालिका गम्भीर हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका उपसभापति पुरन पटेल, स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, प्रतिनिधि विनोद झा, खोप वितरण अभियानका मोहनलाल साहलगायतको सहभागिता रहेको विन्ध्यवासिनी गापाका स्वास्थ्य शाखा प्रमुख नरेशप्रसाद चौहानले बताए । सो अवसरमा गापामा कार्यरत ३६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई छाता र झोला वितरण गरिएको थियो ।