नेरेसो उपशाखा ठोरीको वार्षिक साधारणसभा सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

चिरञ्जीवी सापकोटा, ठोरी, २८ पुस/
नेपाल रेडक्रस सोसाइटी उपशाखा ठोरीको १५औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । ठोरी गापा–२ स्थित सरस्वती मावि गौतमनगरमा उपशाखा ठोरीका सभापति प्रकाश खनालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । आव २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन उपशाखा ठोरीका सचिव प्रदीपकुमार शर्माले प्रस्तुत गरेका थिए भने आव २०७९/८० को आर्थिक प्रतिवेदन उपशाखा ठोरीका कोषाध्यक्ष प्रद्युम्नकुमार गौतमले प्रस्तुत गरेका थिए ।

साधारणसभामा आव २०८०/८१ को अनुमानित प्रस्तावित कार्यक्रम सचिव शर्माले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गौतमले आव २०८०/८१ को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

२०६६ सालमा स्थापित यस उपशाखा ठोरीमा १०१ जना आजीवन सदस्यहरू छन् ।

नेरेसो उपशाखा ठोरीले विभिन्न मानवीय सेवामूलक काम, जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम तथा सरसफाइ जस्ता सामाजिक कार्यक्रम गर्दै आइरहेको संस्थाका सभापति प्रकाश खनालले जानकारी दिए ।

साधारणसभामा समावि ठोरीका पूर्वप्रधानाध्यापक तथा आजीवन सदस्य केशवप्रसाद रेग्मी, पूर्ववडाध्यक्षसमेत रहेका आजीवन सदस्य रामप्रकाश कुँवर तथा संस्थाका पूर्व सभापति अनन्तकुमार श्रेष्ठले शुभकामना मन्तव्य दिए ।

संस्थाका आजीवन सदस्यहरूको उपस्थितिमा भएको साधारणसभामा स्वागत मन्तव्य कार्य समितिका सदस्य रामबहादुर विष्टले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव शर्माले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।