ओमप्रकाश चौधरी, सेढवा, २६ पुस/
आदिवासी जनजाति थारू समुदायको महान पर्व माघी (खिचडी) तथा थारू संवत् २६४८ नयाँ वर्ष पर्साको पाँच स्थानमा मनाउन तयारी भइरहेको छ ।
यस वर्ष वीरगंज–१० आदर्शनगरस्थित पुरानो बसपार्कमा माघी मनाउने तैयारी भइरहेको मूल माघी समारोहका अध्यक्ष शेखर चौधरीले बताए । माघ १ गते घण्टाघरबाट झाँकीसहित ¥याली निकाल्ने तथा रक्तदान कार्यक्रमको आयोजना गरिने अध्यक्ष चौधरीले बताए । कार्यक्रममा थारू समुदायको संस्कृति, पहिरन, माछा, घोङी, गँगटो, हाँस, कुखुरा, परेवाको मासु, चिचर (अनन्दी चामलको भुजा) लगायत खानाका परिकार, थारू कला, सङ्गीतको प्रदर्शनी गरिने अध्यक्ष चौधरीले बताए । उनले कार्यक्रममा दश लाख खर्च हुने अनुमान गरिएको बताए ।
त्यस्तै पटेर्वासुगौली गापा–४ स्थित नेरामावि दाप सुगौलीको खेल मैदानमा पनि माघी महोत्सव मनाउने तैयारी भइरहेको छ । गापाको आयोजना तथा माघी मूल समारोह समितिको व्यवस्थापनमा उक्त महोत्सवको तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष मुकेश गौरोले बताए । कार्यक्रममा थारू राष्ट्रिय कलाकार दिपिका चौधरी, चितवनका अग्रीम महिला समूह, माडीका कलाकार तथा स्थानीय थारू कलाकार नेपाली निरहुवाको प्रस्तुति हुने अध्यक्ष गौरोले बताए । यसका साथै रक्तदान कार्यक्रम र स्थानीय विद्यालयका बालबालिकाहरूको नृत्य प्रतियोगिता पनि हुने अध्यक्ष चौधरीले बताए ।
यसैगरी जीराभवानी गापा–१ मा पनि माघी महोत्सव आयोजना हुने बताइएको छ । गापाको सहयोगमा युवा समाज पकडीटोलको आयोजनामा माघी मनाउने तयारी भइरहेको आयोजक समितिका अध्यक्ष गोविन्द चौधरीले बताए । त्यस्तै पुस २९ गते खुला रक्तदान कार्यक्रम आयोजना हुने चौधरीले बताए । उक्त कार्यक्रममा थारू खानाका परिकारहरूको स्टल राखिने छ । कार्यक्रममा सांस्कृतिक प्रतियोगिता हुने र प्रथम, द्वितीय र तृतीय हुने टीमलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चौधरीले बताएका छन् ।
पर्सागढी नगरपालिकाको बढनियारमा पनि थारू कल्याणकारीसभा नगर मूल समारोह समितिको आयोजनामा माघी महोत्सवको तयारी भइरहेको छ । पर्सागढी नपा–१ मनवा बजारमा आयोजना हुने महोत्सवको अनुमानित खर्च दुई लाख पचास हजार रहेको आयोजक समितिका अध्यक्ष जङ्गबहादुर चौधरीले बताए ।
कार्यक्रम आयोजनाका लागि पर्सागढी नपामा रकम माग गरिएको र बाँकी रकम चन्दा सङ्कलनबाट उपलब्ध गराइने अध्यक्ष चौधरीले बताए । कार्यक्रममा बाहिरी कालाकार नल्याइएको र स्थानीय कलाकारहरूलाई प्राथमिकतामा राखिएका र प्रोत्साहन गरिने अध्यक्ष चौधरीले खुलासा गरे ।
सखुवापरसौनी गापा–२ पचगावाँमा पनि माघी महोत्सवको तयारी भइरहेको छ । सखुवापरसौनी थारू समाजको आयोजनामा माघी महोत्सव–२०८० को सम्पूर्ण तयारी भइसकेको आयोजक संस्थाका अध्यक्ष शशिकान्त महतोले बताए । थारू परम्परा संस्कृति, पहिरन, चलन संरक्षणका लागि यस कार्यक्रममा विभिन्न किसिमका प्रदर्शनहरू गरिने अध्यक्ष महतोले बताए । कार्यक्रममा नवज्योति संगाती थारू महिला समूह पद्मपुर, चितवनको सदस्यहरूले प्रस्तुति गरिने अध्यक्ष महतोले बताए ।