प्रस, वीरगंज, १४ मङ्सिर/
सखुवाप्रसौनी गाउँपालिकामा मङ्सिर ६ गते एकजना युवकको शङ्कास्पद मृत्युको रहस्य सुल्झिन नपाउँदै आइतवार अर्का एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ।
सखुवाप्रसौनी गापा–३ पश्चिमटोल लालकटैयामा ४० वर्षीय जैनुल हक अन्सारी पोखरीमा मृत फेला परेका हुन्। खेतमा काम गर्ने मानिसहरूले बस्तीदेखि दुई किलोमिटर टाढा पोखरीमा मानिसको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इप्रका पटेर्वासुगौलीले पोखरीबाट शव निकालेको थियो। उक्त शव अन्सारीको भएको प्रहरीले पुष्टि गरेको छ। परिवारजनले मृतक अन्सारी सुस्त मनस्थितिको भएको र उनको उपचार भइरहे पनि तीन दिनदेखि सम्पर्कविहीन भएको र त्यसअघि दुई दिनसम्म औषधि सेवन नगरेको र सोही कारणले पोखरीमा डुबेर मृत्यु भएको हुन सक्ने बताएका छन्। अन्सारीलाई औषधि सेवन नगर्दा छारेरोगको पनि समस्या रहेको परिवारजनले बताए।
यसैबीच, मङ्सिर ६ गते शङ्कास्पद मृत्यु भएको सखुवाप्रसौनी गापा–२ पुरैना दहिनबीका ३० वर्षीय युवक सन्तोष यादवको मृत्यु सम्बन्धमा प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ। युवक यादवका पिता जवाहिरराउत अहिरले छोरा घरनजीकको रूखमा झुन्डिएको अवस्थामा फेला परेको र आफूले डोरी काटेर बचाउन खोजेको बयान दिएको आधारमा प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो। प्रहरीले पुतलालाई डोरीमा झुन्ड्याएर अहिरलाई डोरी काट्न लगाएको थियो। तर उनी तीनपटकसम्म असफल रहे। प्रहरीले यो अनुसन्धान र यसअघिका अनुसन्धानमा अहिर दोषी देखिएको बताएका छन्।
उनले भनेका कुराहरू मेल नखाएका कारण छोरा सन्तोष यादवले आत्महत्या नगरी उनको हत्या भएको अनुमान प्रहरीको छ। सन्तोषका पिता जवाहिरले पहिलो पत्नीको मृत्युपछि दोस्रो बिहे गरेका थिए। सौतेली आमा र सौतेला भाइले खान नदिने, यातना दिने, घरमा बस्न नदिने जस्ता कार्य गरेको स्थानीयहरूले बताएका छन्। सन्तोषको मृत्युपछि प्रहरीले सौतेली आमा र दुई भाइलाई पक्राउ गरेको थियो। हाल उनीहरूलाई अनुसन्धानको क्रममा हाजीर जमानीमा छाडेको छ। सन्तोषका मामाले प्रहरीमा निवेदन दिएर घटनाको अनुसन्धान गर्न माग गरेपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान अगाडि बढाएको हो।