प्रस, गरुडा, १३ मङ्सिर/
सर्लाही र रौतहटको करीब सीमा नदीको रूपमा रहेको वाग्मतीको बगरमा बेसारखेती मौलाएको छ। बगरको बलौटे माटोमा उपयुक्त हावापानी पाएपछि बेसारखेती निकै फस्टाएकोले किसानहरू खुशी देखिएका छन्।
बगरमा उखु, केरा, परवल तथा बदाम खेती फस्टाउने गरेको किसानहरू बताउँछन्। यस वर्ष वर्षाको समयमा औसतभन्दा बढी पानी परेकोले उखु, परवल, सखरखण्ड र बदाम खेती खासै नफस्टाएको तर बेसारखेती भने औसतभन्दा राम्रो भएको रौतहटको गढीमाई नगरपालिका–७ का राजिन्दर साहको भनाइ छ।
वाग्मती नदीको पूर्व सर्लाही र पश्चिम रौतहटका विभिन्न स्थानीय तहका किसानले बगरमा बेसारखेती गरेका छन्। सर्लाहीको धनकौल र रामनगर गाउँपालिका तथा रौतहटको गढीमाई र माधवनारायण नगरपालिकाका किसानले बगरमा गरेको बेसारखेती फस्टाएको हो। सर्लाहीको वाग्मती, बरहथवा तथा रौतहटको वृन्दावन नगरपालिकाका किसानले बगर र आसपासमा लगाएको बेसारखेती औसत वर्षभन्दा राम्रो देखिएको छ।
रौतहटको गढीमाई नगरपालिका–२ का कामेश्वर सहनीले दाजुभाइ मिलेर आफूले डेढ बिघाभन्दा बढी क्षेत्रफलमा बेसारखेती गरेको बताउँदै गाउँका किसानले पचासौं बिघाभन्दा बढीमा बेसारखेती गरेको बताए। किसानको लागि नगदेबालीको रूपमा बेसारखेती देखिएकोले आकर्षण बढेको सहनीको भनाइ छ।
कोरोना महामारीको समयमा बेसारको बारेमा धेरै चर्चा भएकोले सामान्य बजारमा गत वर्षको तुलनामा बेसारको भाउ केही बढी रहेको छ। यस वर्ष किसानले खेतमा लगाएको बेसार खन्ने समय आउन थालेकोले राम्रो मूल्य पाउनेमा किसानहरू आशावादी देखिएका छन्।
उत्पादन पनि राम्रो हुने देखिएको र बजार भाउ पनि राम्रो भएकोले किसानहरूमा बेसारखेतीप्रति सकारात्मक आशा देखिएको सर्लाहीको धनकौल गाउँपालिकाका मुकेश यादवको भनाइ छ। उनी भन्छन्– बेसारमा औषधीय गुण भएको किसानहरूले पनि बुझेको र कोरोनाको समयमा विभिन्न सञ्चारमाध्यममा पनि आएकाले यस वर्ष किसानलाई लाभ हुने देखिन्छ।
बेसारको उत्पादन राम्रो भएको र बजार भाउ पनि राम्रो भएकोले किसानहरूले फाइदा लिने सम्भावना हुँदाहुँदै पनि भारतीय बेसारसित प्रतिस्पर्धा हुने हो कि भन्ने डर किसानलाई भएको सहनी बताउँछन्। बजारमा भारतबाट काँचो बेसार नआउँदा सर्वसाधारण किसानले बेसारखेतीबाट राम्रो फाइदा लिनेमा आशावादी देखिएका छन्।