प्रस, महोत्तरी, १३ मङ्सिर/
महोत्तरीको बर्दिबासमा बालिका हत्या अभियोगमा पक्राउ परेका गौशाला–५ का अरुणकुमार साहविरुद्ध प्रहरीले चारवटा मुद्दा दायर गरेको छ।
६ वर्षकी बालिकाको शव फेला परे लगत्तै पक्राउ परेका २६ वर्षीय साहविरुद्ध अपहरण, बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी गराएका छन्। बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयले आशङ्का गरिरहेका बेला शुक्रवार अबेर प्रहरीले अभियुक्त साहविरुद्ध जबरजस्ती करणी मुद्दा पनि दर्ता गरेको हो।
बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिवासलगायत जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो। सोपश्चात् झन् आक्रोशित बनेका महोत्तरीवासीले आन्दोलनलाई थप कडा बनाएकोमा शनिवार स्थिति सामान्य रहेको थियो।
शुक्रवार गौशाला उद्योग वाणिज्य सङ्घले प्रदर्शन गरेको थियो भने शनिवार संस्थागत प्रदर्शन भएन। छिटफुट प्रदर्शन भएका थिए। महोत्तरीका प्रमुख जिल्ला अधिकारी र आन्दोलनरत पक्षले गठन गरेको समितिबीच गत बुधवार वार्ता भई ४ बुँदे सहमति भएपछि प्रदर्शन क्रमशः मत्थर हुँदै गएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here