- कुमारबन्धु रुपाखेती
भारतमा भर्खरै चारवटा प्रदेशको विधानसभा निर्वाचन सम्पन्न भएको छ, जसमा भारतीय जनता पार्टीले तीन प्रदेशमा उल्लेखनीय सफलता हासिल गर्यो । विधानसभाको परिणामले उत्तेजित भाजपा आफूलाई भारतीय राजनीतिको बब्बर शेर ठान्न थालेको छ । पैसा र उपहार लिएर अन्टसन्ट प्रश्न गर्दै संसद्लाई गुमराह गर्न खोजेको आरोपमा तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्रालाई भाजपाका बब्बर शेरको इशारामा पदबाट बर्खास्त गरिएको छ । गौतम अडानी भारतका बदनाम व्यापारी र प्रधानमन्त्री नरेन्द्र मोदीका मित्र हुन । महुआले सन् २०१९ देखि नै संसद्मा ६१ पटक अडानीको विपक्षमा बोल्ने, पोल खोल्ने कलाबाट आजित भाजपाले उनको सांसद पद खारेज गरेर, चैनको सास लिएको देखिन्छ । सान्दर्भिक प्रश्न सोध्ने सांसदको उचित जवाफ दिनुको साटो सांसद पद नै खारेज गरेर तानाशाही प्रवृत्ति देखाएको कुराले अहिले भारतीय राजनीतिक बजार गर्माएको छ ।
त्यस्तै, मोदीले प्रधानमन्त्री बन्न प्रत्येकपटक निर्वाचन अघि असफल टुक्का छाड्ने गरेका छन । जस्तै ‘पहले पडोसी’, अनि ‘अच्छे दिन आएगा’ र अहिले ‘मोदीकी ग्यारेन्टी है’ भन्ने जस्ता सगुफा छाडेर भारतीय राजनीतिलाई बरग्ल्याउन खोजेको देखिन्छ । विपक्षीलाई तह लगाउन यी बब्बर शेरहरूले महारत नै हासिल गरेका छन् । विगतमा आफ्नो शासनकाल लम्ब्याउन र विपक्षी तह लगाउन पूर्वप्रधानमन्त्री स्व इन्दिरा गाँधीले इमरजेन्सीको सहारा लिएकी थिइन् भने मोदीहरू सत्ता लम्ब्याउन र विपक्षीको तेजोवध गर्न स्व इन्दिरा गाँधीभन्दा तल खसेको देखिन्छ । तृणमूलकी मोइत्रापछि अब भाजपाका शेरहरू धीरज शाह, एकजना काङ्ग्रेसी सांसदको घरमा छापा मार्दा तीन सय करोड भेटिएको, यो रकम ठूलाबडा काङ्ग्रेसी नेताको भएको डुगडुगी पिटिरहेका छन् । भनिन्छ, मोइत्रापछि भाजपाहरू काङ्ग्रेसको शिकारमा अहोरात्र जुटेका छन् ।
भनिन्छ, स्वतन्त्र भारतका मिडिया हाउसहरू परतन्त्र र एकतर्फी भएका छन, जसले गर्दा मोदीका मित्र अडानी जस्ता लुटेराहरूले भुक्ने र लुक्ने मौका पाएका छन् । उता बिचरा जुनियर महमुद जसले ४० वर्षसम्म भारतीय सिनेजगत्मार्फत भारतीयहरूलाई हँसाए, अस्ति बिहीवार परलोक गए, भाजपाले कुनै समवेदना प्रकट नगरी जगहसाइँ गर्यो रे । स्टार कलाकार अक्षय कुमारले मोदीसित अन्तर्वार्ता लिएको खूबै चर्चा हुन्छ, सलमानसँग मोदीले चङ्गा उडाएको समेत मिडियामा आउँछ । जुनियर महमुदको वास्तविक नाम नईम शैøयद हो, उनी ६८ वर्षका थिए, बालकलाकारको रूपमा फिल्ममा आए, झन्डै उनले सात भारतीय भाषाका २६० वटा फिल्ममा काम गरे, प्रसिद्ध हाँस्य कलाकार महमुदले प्रभावित भई उनको नाम जुनियर महमुद राखिदिए ।
अचेल भारतमा रु दुई हजारको नोट सटही गर्नेहरूको घुइँचो देखिन्छ । तर नोट साट्नेले अनिवार्यरूपमा दुईवटा पच्चीस सय अर्थात् पाँच हजारको सिक्का लिनुपर्छ ।
पच्चीस सय सिक्काको तौल झन्डै १३ किलो हुँदो रहेछ, जुन सटहीकर्ताको लागि बोझ र निल्नु न ओकल्नु बनेको छ । भनिन्छ, भाजपाई जीतको उपहार हो रे यो बोझिल सिक्का । उता पटकपटकको जेलजीवन र निर्वाचनमा हारले आजित लालुप्रसाद यादव अस्ति शुक्रवार सपरिवार तिरुपति बालाजीको दर्शन पुगेका थिए । उनका प्रिय पुत्र बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवको ९ डिसेम्बरको दिन जन्मदिनसमेत त्यतै मनाए छन् । कुनै जमानामा भान्साबाट उठाएर पत्नी राबडीलाई समेत मुख्यमन्त्री बनाउने क्षमता भएका लालुको राजनीतिक हालत खस्ता छ । उनको लालटेन छाप अचेल भगवान्भरोसे चल्दैछ, त्यसैले त उनले नितीश कुमारलाई हमसफर बनाएका छन् । भारतीय मिडियाहरूले कभर गर्न नसकेको एउटा अर्काे समाचार छ । बिहार बेतियाको एउटा मिडिल स्कूलका १५२ जनामध्ये १५० जना विद्यार्थी सिकिस्त भए, बिरामी बच्चाहरूले अस्पताल भरियो, विद्यालय परिसरभरि दर्जनौं एम्बुलेन्स पठाउनुपर्यो । भारत सरकारले ‘मिड डे मिल’को नाममा विद्यार्थीहरूलाई खाजा, खाना दिन्छ विद्यालयको तर्फबाट । यो मिड डे मिलमा विद्यालयले ठूलो धाँधली, मिलावट र बासी, सडेगलेका सामान प्रयोग गर्छ । परिणामस्वरूप १५२ जना स्वस्थ विद्यार्थीहरूमध्ये १५० जना विद्यार्थीलाई खाजा खाने बित्तिकै झाडापखाला, बान्ता चल्छ, बेहोश हुन्छन् । हाम्रोमा पनि सरकारी विद्यालयमा खाजा दिइन्छ ।
त्यस्तै, विगतमा सडक ब्रेकरहरूले गर्दा दुर्घटना बढेको महसूस गरी बिहारमा ७४ वटा सडकका ब्रेकर भाँचेर समतल पारिएका छन् । वीरगंज महानगर र तिनका ठेकदारहरूले समेत विनाकारण महानगरमा बग्रेल्ती ब्रेकर बनाएका छन् । यिनले कहिले सबक सिक्ने । बेढब्बा र भद्दा किसिमले सडकको बीचोबीच बे्रकर बनाउन लगाउने रोग हाम्रो महानगरमा व्याप्त छ । भारतमा अचेल सडकमा रहेका यस्ता बे्रकरलाई मौतका बे्रकर भनिन्छ । अब उप्रान्त भारत सरकारले नेपाललगायतका मुलुकमा प्याज पठाउन प्रतिबन्ध लगाएको छ । लामो समयदेखि नेपालमा प्याज र चिनीको रामकहानी चालू छ । नेपाल सरकारलाई त प्याज र आलुमा पनि भ्याट चाहियो रे । यहि रक्सौलमा प्याज भारु २५/– मा प्रतिकिलो खुद्रा बिक्री छ । हाम्रोतिरको मूल्यमा के भनौं, सबै भुक्तभोगी नै छन् ।
अहिले नेपालमा वास्तवमा आर्थिक मन्दी छ । वीरगंज–रक्सौल सीमामा बस्ने हामी सबैले यो सहजै अनुमान गर्न सक्छौं । हो, चाडपर्व र अन्य बेला केही नेपालीहरू खरीदारीको गन्तव्य रक्सौल हुन्छ । अहिले वीरगंजमा पसल बिक्रीमा, सटर खाली छ आदि लेखिएका देखिन्छन् । मेनरोडका पसल हुन् या तरकारीबजार फाटफुट मात्र ग्राहक देखिन्छन् । तर पारि रक्सौलमा सबैखाले पसलमा खचाखच भीडभाड, किनमेल गर्नेहरू ओइरो तर सटर, कवल भाडा महँगो छ र ग्राहक पनि छन् । भन्न खोजिएको के हो भने पारिपट्टि आर्थिक मन्दी न्यून र हाम्रो मुलुकमा आर्थिक मन्दी ‘शिर चढेके बोलता है’को अवस्था छ । नेपालका राजनीतिक दल र नेताहरू हाम्रो दयनीय अवस्थाका कारक हुन् । त्यसैले भन्छु–अन्यायी धूर्तका साथ गर्नुहुँदैन सङ्गत, स्यालको पछि लाग्दा नै भए शङ्कर बन्धित । नेताहरूको अवस्था त अहिले गलतफहमी थी के अपने बहुत है, मुडकर देखा तो एक साया हमसफर निकला । अन्तमा फेरि भन्छु– विक्षिप्त मन साहसी बन ।