पोखरियामा सेवाकेन्द्र तत्काल नखोलिने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ मङ्सिर/
पोखरियामा मालपोत, भूमिसूधार, इलाका प्रशासन कार्यालयलगायत सेवाकेन्द्र स्थापनाको विषय केही समयको लागि टरेको छ ।

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानले अर्थ मन्त्रालयका सचिवले कर्मचारी आपूर्ति हुन नसक्ने बताएपछि पोखरियामा विभिन्न कार्यालयहरूको सेवाकेन्द्र स्थापना गर्ने अभियान तत्कालका लागि स्थगित भएको बताएका छन् । उनले पोखरियामा सेवाकेन्द्र स्थापनाका लागि सङ्घ र प्रदेश सरकारलाई विभिन्न चरणमा ध्यानाकर्षण गराएको तर अर्थ मन्त्रालयले आर्थिक समस्याको कारण कर्मचारी आपूर्ति हुन नसकेको बताएपछि हाललाई सो अभियान स्थगित गर्नुपरेको बताएका छन् ।

उनले पोखरिया नपाले कार्यालयको घरभाडाको व्यवस्था गर्ने र कर्मचारीहरू सरकारले व्यवस्था गर्नुपर्ने कुरा अगाडि बढे पनि अर्थ मन्त्रालयका सचिवले कर्मचारी आपूर्तिमा आर्थिक समस्याको कारण अडचन लगाएपछि सो अभियान अहिले स्थगन गर्नुपरेको बताए ।

पोखरिया पर्सा जिल्लाको दोस्रो सदरमुकाम मानिए पनि मालपोत, भूमिसुधार र प्रशासनिक सेवा सुविधा छैन । पोखरिया आसपास ग्रामीण भेगका जनता सेवा लिन वीरगंज धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न पोखरिया नपाका प्रमुख चौहानसहित स्थानीय सर्वदलीय सर्वपक्षीय व्यक्तिहरूले सेवाकेन्द्र स्थापनाका लागि लामो समयदेखि पहल गर्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।