कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट १९ मङ्सिर/
रौतहट जिल्लास्थित इलाका प्रशासन कार्यालय, गरुडामा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कार्यालयको कामकाज प्रभावित हँुदैै आएको छ ।

गृह मन्त्रालयले इप्रका, गरुडाको कार्यालय प्रमुखमा शाखा अधिकृत वा निमित्त प्रमुखको नयाँ व्यवस्था नगर्दा एक महीनादेखि सेवा प्रभावित हँुदै आएको सेवाग्राहीहरूको गुनासो रहेका छन् ।

निमित्त कार्यालय प्रमुख नायब सुब्बा रामस्वार्थ राय यादवको छ महीनाको समयावधि सकिएको र मन्त्रालयले समयावधि थप नगरेकोले सेवाग्राही मर्कामा पर्नुका साथै सेवा प्रभावित हुँदै गएको गुनासो छ ।

इप्रका, गरुडाको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको समयावधि गत कात्तिक १५ गते सकिएको हो ।

विगत चार वर्षदेखि कार्यरत यादवलाई मन्त्रालयले पटक–पटक निमित्त प्रमुखको जिम्मेवारी दिंदै आएको थियो ।

कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिश गर्नेलगायतका सेवा प्रभावित हुँदै गएको गुनासो छ ।

सेवाग्राहीको कामकाज प्रभावित नहोस् भन्ने उद्देश्यले अर्को कार्यालय प्रमुखको व्यवस्था नहुन्जेलसम्मको लागि जिल्ला प्रशासन कार्यालय, रौतहटमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मणिभूषण साहलाई इप्रका, गरुडामा पठाइएको छ ।

जिप्रका, रौतहटले प्रमुख प्रशासकीय अधिकृत साहलाई इप्रका, गरुडामा कामकाज गर्न खटाए पनि दुर्ई ठाउँको जिम्मेवारीमा रहेका प्रशासकीय अधिकृत साह नियमित इप्रका, गरुडामा बस्न नसक्दा सेवाग्राहीको काममा ढिलासुस्ती भइरहेको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इप्रका, गरुडाको निमित्त प्रमुखको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको र गृह मन्त्रालयले चाँडै त्यहाँ नयाँ कार्यालय प्रमुख पठाउन लागेको बताए । २०७३ सालमा स्थापना भएको इप्रका, गरुडा स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भएपनि मन्त्रालयले अधिकृत पठाउन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।