प्रस, वीरगंज, १८ मङ्सिर/
किर्ते मुद्दाका दुईजना अभियुक्तको नाउँमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको एक साता बित्न लाग्दा पनि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्सामा किर्ते मुद्दा दर्ता भई अनुसन्धानको क्रममा पर्सा, बहुदरमाई–२ का वडाध्यक्ष जीतेन्द्र पटेल र सोही वडा बस्ने वर्ष ३६ की सङ्गीत देवीको नाउँमा पक्राउ पुर्जी जारी हुँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको हो । प्रहरीले फेला पार्न नसकेको अवस्थामा गाउँलेले फरार अभियुक्तहरू लुकिछिपी गाउँमैं बस्दै आएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साको मुद्दा शाखाकी प्रहरी निरीक्षक मनीषा लौडारीद्वारा पक्राउ पुर्जीसहित मातहतका प्रहरी युनिटलाई लेखिएको पत्रमा यथाशीघ्र पक्राउ गरी जिप्रकामा हाजिर गराउन निर्देशन दिइएको छ । इलाका प्रहरी कार्यालय, पोखरिया, प्रहरी चौकी बहुअर्वाभाठा र विन्ध्यवासिनी प्रहरीलाई यस्तो ताकेदा गरिएको हो । प्रहरी युनिट इन्चार्जहरू अभियुक्तसँग नजीक रहेकाले पक्राउ नपरेका हुन् ।
सोही किर्ते मुद्दाका अर्का अभियुक्त विकासप्रसाद यादव केही दिनअघि जिल्ला प्रहरी कार्यालय, पर्साबाटै पक्राउ परेका थिए । आफ्नै मुद्दाबारेमा सोधपुछ गर्न गएको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सङ्गीता देवी पक्राउ परेका विकासकी पत्नी हुन् । प्रहरी चौकी विन्ध्यवासिनीका प्रहरी सहायक निरीक्षक नवलेश तिवारी र इप्रका, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीको लापरवाहीका कारण पर्सा प्रहरीको मातहतका युनिटले पक्राउ गर्न अटेरी गरेको किर्ते मुद्दाका जाहेरवाला प्रमोदप्रसाद यादवको भनाइ छ । प्रमोदका अनुसार नजीकका प्रहरी युनिटका इन्चार्जहरूकै संरक्षणको कारण हालसम्म दुवैजना पक्राउ पर्न नसकेको उनको आरोप छ । प्रहरी युनिट इन्चार्जसँग बुझ्दा समात्न गएको तर नफेला परेको बताउँछन् । तर वडाध्यक्ष पटेल र प्रहरी सहायक निरीक्षक तिवारी निरन्तर सम्पर्कमा तथा प्रत्यक्ष भेटघाटसमेत गरिरहेको एउटा फेला परेको छ । जसमा वडाध्यक्ष पटेल र प्रहरी चौकी विन्ध्यवासिनीका सुरक्षाकर्मीबीच कुराकानी भएको देखिन्छ ।
वडाध्यक्ष पटेलले २०७५ सालमा अधिकारको दुरुपयोग गरी कानूनविपरीत सिफारिश गर्दै विकासप्रसाद यादवकी पत्नीलाई निजकै नक्कली कान्छी आमा बनाएर विगत पाँच वर्षदेखि मृतक बुबाको निवृत्तिभरण बुझ्दै आएको घटना सार्वजनिक भएपछि उक्त घटनामा संलग्नमाथि किर्ते मुद्दा पनि दर्ता भएको छ । सोही मुद्दामा पर्सा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ । अभियुक्त पक्राउ गर्ने सवालमा विन्ध्यवासिनीका प्रसनि तिवारीसँग बुझ्दा आफूहरूले प्रयास गरेको तर सम्बन्धित मानिस फेला नपरेको प्रतिक्रिया दिए ।