महिला क्रिकेट छनोटको उपाधि काठमाडौंलाई

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

भरतपुर (चितवन) १८ मङ्सिर/रासस
प्रधानमन्त्री कपका लागि भएको बाग्मती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमवार भएको ललितपुर र काठमाडौंबीचको फाइनल खेलमा ललितपुरलाई चार विकेटले पराजित गर्दै काठमाडौं क्रिकेट सङ्घले उपाधि हात पारेको हो ।

सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौंले १६ दशमलव एक ओभरमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गरेर उपाधि हात पा-यो ।

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताइन् । उनले नियमित खेल गर्न सङ्घ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने जानकारी दिइन् ।

रङ्गशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भइसकेको नगरप्रमुख दाहालले बताइन् । क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बाग्मती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।

“क्रिकेट रङ्गशाला बन्नेमा दुई मत छैन,” उनले भनिन्, “केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमतिपत्र आउँदैछ । एक महीनाभित्र निर्माण शुरू गर्ने गरी टेन्डरको काम हुँदैछ ।” नगरप्रमुख दाहालले क्रिकेट रङ्गशालाका अन्य संरचनालाई पनि सञ्चालन हुनेगरी सरसफाइको कार्य अघि बढ्ने बताइन् ।

नेपाल क्रिकेट सङ्घका केन्द्रीय सचिव तथा बाग्मती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतमबुद्ध क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै गएको उल्लेख गरे ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस