परम्परागत मेलामा प्रहरी हस्तक्षेप, गोली चल्यो, एकजना घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, १७ मङ्सिर/
वीरगंज महानगरपालिका–१७ अलौंको सिवानटोलामा वर्षौंदेखि लाग्दै आएको महावीरी झन्डा मेलामा शनिवार राति स्थानीय र प्रहरीबीच विवाद बढेर झडप भएको र प्रहरीले झडप साम्य पार्न चार राउन्ड हवाई फायरिङ गर्नुपरेको थियो । धेरै वर्षदेखि सो स्थानमा पूर्णिमापछि मङ्सिर महीनामा महावीरी झन्डा मेला लाग्दै आएको र हिजो शनिवार मेलामा कुश्ती र नाचको कार्यक्रम गरिएको थियो । नाचमा विवाद हुन्छ भनेर प्रहरी चौकी श्रीसियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले साढे दश बजे राति बन्द गराउँदा विवाद बढेको थियो । वडाध्यक्ष सञ्जु छतकुलीले प्रहरीलाई आफूसमेतले राति १२ बजेसम्म परम्परागतरूपमा हुने नाचगान गर्न दिन आग्रह गरेको तर प्रहरी साढे दश बजे नै गएर बन्द गराउन खोज्दा स्थानीयसँग विवाद भएको बताए ।

स्थानीय मेला समितिले परम्परागतरूपमा हुँदै आएको मेलामा अनावश्यक रोक लगाइएपछि स्थानीयले विवाद गरेको बताए । विवाद बढेपछि जिल्ला र आसपासबाट थप प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले गाउँलेहरूलाई तितरबितर पार्न शुरूमा लाठीचार्ज गरेको थियो भने पछि अश्रुग्याँस र पछि चार राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरिङबाट एकजना भारतीय नागरिक घाइते भएको वडाध्यक्ष छतकुलीले बताए । उनले लाठीचार्ज र अश्रुग्याँसबाट पनि केही सामान्य घाइते भएको बताएका छन् ।

वीरगंज महानगरपालिका–१७ अलौंको सिवानटोला सीमावर्ती भारतको सिवानसंग जोडिएको छ । दशगजादेखि सय मिटर वर नेपालतर्फको सिवानटोलामा कार्यक्रम भएको हो । घटनामा स्थानीयले प्रहरी चौकी र सवारीसाधनमा क्षति पु¥याएको बताइएको छ ।

वडाध्यक्ष छतकुलीले सो मेलामा परम्परादेखि नै अबेर रातिसम्म कार्यक्रम हुने गरेको र प्रहरीको पनि साथ सहयोग रहँदै आएकोमा हिजो अग्रिम सूचनाविना प्रहरीले साढे दश बजे मेलामा नाच बन्द गराउँदा ठूलो सङ्ख्यामा रहेका स्थानीयले विरोध गरेको बताए । घटनाको बेला आफू नरहेको र विवादले उग्ररूप लिएको सूचना थाहा पाएपछि आफू पुगेको उनले बताए । घाइते भारतीय नागरिकको आइतवार बिहान रक्सौलस्थित डङ्कन अस्पतालमा शल्यक्रिया गरिएको वडाध्यक्ष छतकुलीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।