नितेश कर्ण, वीरगंज, १७ मङ्सिर/
घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले चालू आव २०८०/८१ को चौमासिकमा ३९ वटा उद्योगको लगतकट्टा भएको र ३०१ वटा नयाँ उद्योग दर्ता भएको जानकारी गराएका छन् ।
कार्यालयकी सूचना अधिकारी सरिता खड्काले उद्योगतर्फ ३०१ वटा उद्योग दर्ता भएको, ३७८ वटा उद्योगको नवीकरण भएको, ३३ वटा उद्योगले पूँजीवृद्धि गरेको, १० वटा उद्योगको ठाउँसारी भएको, छवटाले नाम संशोधन गरेको, १५ वटाको नामसारी भएको, तीनवटाले शाखा विस्तार गरेको र ३९ वटा उद्योगको लगतकट्टा भएको बताइन् । उनले चौमासिक गणनामा ३०१ वटा उद्योगमध्ये १२९ वटा महिला उद्यमी र १९२ वटा उद्योग पुरुष उद्यमीको नाममा दर्ता रहेको बताइन् । नयाँ दर्ता रहेको उद्योगहरूमा ४०९ जना महिला र ९२९ जना पुरुषले रोजगार पाएको उनले जानकारी गराइन् । यो प्रक्रिया गर्दा कार्यालयलाई पहिलो चौमासिकमा रु २१ लाख ९१ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी खड्काले बताइन् ।
यसैगरी, वाणिज्यतर्फ ५३ वटा नयाँ फर्म दर्ता भएको, ११८ वटाको नवीकरण गरिएको, चारवटाको पूँजीवृद्धि, तीनवटाले ठाउँसारी गरेको, सातवटाको लगतकट्टा भएको र सातवटाको उद्देश्य थप भएको जानकारी गराएकी छन् । यो प्रक्रियाबाट कार्यालयमा एक लाख ५३ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी खड्काले बताइन् ।