नरेश यादव, पर्सागढी, ११ कात्तिक/
पर्सा जिल्लामा रहेका सातवटा खोलाको मङ्सिरको आधाआधी पुग्न लाग्दा पनि ठेक्का लाग्न सकेको छैन।
प्रत्येक वर्ष असार १ गतेदेखि असोज १ गतेसम्म नदीजन्य पदार्थको उत्खननमा रोक लाग्ने र सो अवधिमा जिल्ला समन्वय समितिले खोलाहरूको प्रारम्भिक वातावरणीय रिपोर्ट तयार गरी वन कार्यालयको स्वीकृति लिएर स्थानीय तहलाई खोला उत्खननको लागि ठेक्का लगाउन स्वीकृति प्रदान गर्दै आएको थियो। तर यस वर्ष पर्सा जिल्लाका सातवटा खोलामध्ये दुईवटा खोलाको मात्र अहिलेसम्म प्रारम्भिक वातावरणीय रिपोर्ट तयार भएको र सोहीअनुरूप सम्बन्धित पालिकाले ठेक्का लगाइसकेको छ।
ठेक्का लागेको खोलामा वीरगंज महानगरको भेडाहा खोला र पर्सागढी नगरपालिकाको सिंघाही खोला मात्र छन्। यी खोलाहरूमा पनि ठेक्का दुई महीनापछि लागेको हो। जिल्ला समन्वय समिति, पर्साले समयमा प्रारम्भिक वातावरणीय रिपोर्ट तयार नगर्दा गत वर्षझैं यो वर्ष पनि नदीजन्य पदार्थको वैध उत्खननमा समस्या देखिएपछि अवैध उत्खनन तीव्र गतिमा भइरहेको छ।
पर्सा जिल्लामा भेडाहा, सिंघाही, कर्जनिया, जमुनिया, भलुवाही, ओरिया र गादी खोला गरी सातवटा खोला छन्। गत वर्ष पनि प्रारम्भिक वातावरणीय रिपोर्टको अभाव र प्रदेश सरकारको रोकका कारण भेडाहा र सिंघाही खोलामा मात्र ठेक्का लाग्न सकेको थियो।
जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारीले प्रारम्भिक वातावरणीय रिपोर्ट तयार नभएको र केही खोला दुई पालिकाको बीचमा पर्ने हुनाले विवाद हुन गई ठेक्का लाग्न नसकेको बताए। उनले दुई पालिकामा पर्ने खोलाहरूको विवादको कारण पनि प्रारम्भिक वातावरणीय रिपोर्ट तयारीमा समस्या भएको बताए। सभापति अन्सारीले ठेक्का नलागेका खोलाहरूमा अवैध उत्खनन भइरहेको स्वीकारे। उनले जिससलगायतको टोली अनुगमनमा जाँदा अवैध उत्खनन रोकिने र फर्केर आउने बित्तिकै अवैध उत्खनन शुरू हुने गरेको बताए।
स्थानीय सुरक्षाकर्मीहरूले ठेक्का नलागेका खोलामा हुने अवैध उत्खनन रोक्नेतर्फ चासो देखाएका छैनन्। वन क्षेत्र अन्तर्गतका खोलाहरूमा पनि सब डिभिजन वन कार्यालयहरूले चासो नदेखाएका कारण अवैध उत्खनन तीव्र गतिमा भइरहेको छ। दैनिक सयौं ट्याक्टरले अवैध उत्खनन भएका बालुवा, ढुङ्गा, ग्रेभल ओसारिरहेका छन्।
सम्बन्धित सुरक्षाकर्मी र वनकर्मीहरूको संलग्नतामा अवैध उत्खनन भइरहेको स्थानीयहरूको आरोप छ।
एकाबिहानैदेखि बेलुकासम्म अवैध उत्खनन भइरहेकोमा सोको रोकथाम नगर्नुले आर्थिक मिलेमतो भएको स्थानीयहरूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here