प्रस, वीरगंज, १४ कात्तिक/
जिल्ला प्रशासन कार्यालय, पर्साले गैरआवासीय नेपाली र विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाको सन्तानलाई नागरिकता दिने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले मङ्गलवार सूचना जारी गर्दै सोको लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया र कागजातबारे जानकारी गराएका छन् । नेपाल सरकारको मिति २०८०/२/१७ गतेको नेपाल राजपत्रमा प्रकाशित नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ र नेपाल नागरिकता नियमावली (तेस्रो संशोधन), २०८० लाई कार्यान्वयन गर्ने सन्दर्भमा गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातबारे अवगत गराएका थिए ।
कागजातहरूमा जुन जिल्लाबाट साबिकको नागरिकताको प्रमाणपत्र जारी भएको हो, सोही जिल्लामा गई गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि आवेदन दिनुपर्ने, नागरिकता परित्यागको निस्सापश्चात् गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र आवेदनको लागि आवश्यक कागजातसहित सम्बन्धित जिप्रकाको सोधपूछ कक्षमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।
यसैगरी, अनुसूची ८ (ग) बमोजिम सम्बन्धित वडाको सिफारिससहितको निवेदन, अनुसूची ८ (घ) बमोजिमको प्रतिबद्धतापत्र र अनुसूची ८ (च) बमोजिमको शपथ साबिकको नेपाली नागरिकता र राहदानी परित्याग गरेको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता र नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, निवेदकको नजीकको नाताभित्रको नातेदार नेपाली नागरिकतासहित सनाखतको लागि उपस्थित हुनुपर्नेछ । यदि नजीकको नातेदार नभएमा थप बुझी निजलाई चिन्ने नेपाली नागरिकबाट सनाखत गराउन सकिने सूचनामा उल्लेख छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयले प्रहरीको स्थलगत सर्जमिन मुचुल्कालगायत अन्य माध्यमबाट थप बुझ्न सक्ने बताइएको छ ।
यसैगरी, विदेशी पुरुष नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकको सन्तानले नेपाली नागरिकता प्रमाणपत्र पाउनको लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातहरूबारे जानकारी गराइएको छ ।
कागजातहरूमा सम्बन्धित वडा कार्यालयको अनुसूची ७ बमोजिमको सिफारिशसहितको निवेदन, आमाको नेपाली नागरिकता प्रमाणपत्र, मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्रसमेत, निवेदकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र, आमा र सन्तानको तस्वीरसहितको नाता प्रमाणित, बसाइँसराइ गरी आएकाहरूको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी लालपुर्जा, स्थायी बसोबास गरेको सिफारिशपत्र, आमाको विवाह दर्तासमेतको पारिवारिक विवरण खुल्ने कागजात, अनुसूची ७ क बमोजिमको स्वघोषणा, सम्बन्धित वडा तहको किटानी सिफारिश, प्रहरीको स्थलगत सर्जमिन मुचुल्कालगायत गर्न सकिने सहायक प्रजिअ लम्सालले बताएका छन् ।