प्रस, निजगढ, ८ मङ्सिर/
निजगढ नगर कार्यपालिका सदस्यहरू एकमत नहुँदा नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेक्का अनिर्णय बनेको छ।
नदीजन्य पदार्थको ठेक्काको विषयमा सोमवार बसेको नगर कार्यसमितिमा पनि कुनै निर्णय हुन सकेन। यस विषयमा निर्णय गर्न बैठक बसेको यो तेस्रोपटक हो। यस वर्ष निजगढ नगरपालिकास्थित बकैया खोला र धन्सार खोलालाई समेटेर न्यूनतम ठेक्का अङ्क १३ करोड ३२ हजार ९१ रुपैयाँमा बोलपत्र आह्वान गरिएको थियो। गत कात्तिक १६ गते बोलपत्र बिक्रीको अन्तिम समयमा १२ वटा बोलपत्र बिक्री भयो। तर सोमध्ये ६ वटाले मात्रै टेन्डर भरेर बोलपत्र पेश गरे। कात्तिक १७ गते निजगढ नगरपालिकामा ६ वटा बोलपत्र पेश भएको थियो।
जसमा हिमानी सिमेन्ट ब्लक निजगढले १३ करोड ५१ लाख, न्यू पाथीभरा सप्लायर्स हेटौंडाले १३ करोड ३१ लाख ११ हजार १११, विकोई बिल्डर्स काठमाडौंले १३ करोड २५ लाख २५ हजार ५५१, मेची–महाकालीले १३ करोड ५० हजार ५५०, भगवान निर्माण सेवाले १३ करोड २१ लाख ३२ हजार ९९१ र सुदीपा ट्रेडिङले १३ करोड १ लाख १०० रुपैयाँ भरेर बोलपत्र पेश गरेको निनपाको कार्यालयले जनाएको छ।
अन्य ठेकेदार कम्पनीभन्दा बढी रकम हिमानी सिमेन्ट ब्लक निजगढको रहेको र सम्झौताअगावै ठेक्काबापतको धरौटी रकमसमेत नपाको बैंक खातामा जम्मा गरिसकेकोले उसैलाई सो ठेक्का सदर गर्नुपर्ने उपप्रमुख लीलादेवी लामिछानेसहितको कार्यपालिकाको बहुमत सदस्यहरूको तर्क छ।
उक्त टेन्डरको बोलपत्रमा पहिलो रहेको हिमानी सिमेन्ट ब्लक निजगढले बैंक धरौटी रकम (बिडबन्ड) तोकिएको समयमा नगरपालिकाको खातामा जम्मा नगरेको र समयसीमा कटेपछि जम्मा गरेको पाइएको नगरपालिकाको राजस्व फाँटले जनाएको छ। त्यसैगरी, दोस्रो उच्च बोलमा रहेको न्यू पाथीभरा सप्लायर्स हेटौंडाले बैंक धरौटी रकमको सक्कल भौचर नराखी फोटोकपी राखेको पाइएको र तेस्रो विकोई बिल्डर्स काठमाडौंले सबै कागजी प्रक्रिया पूरा गरी सो टेन्डर भरेको पाइएको निजगढ नगरपालिका प्रशासनले जनाएको छ।
पटक–पटक बसेको कार्यपालिकाको बैठकमा सहमति नजुटेपछि नगरप्रमुख सुरेशकुमार खनाल आफ्नो अधिकार प्रयोग गरी निकास दिने तयारीमा रहेको बुझिएको छ।  “सहमतिमा आउन पटक–पटक नगरप्रमुखले आग्रह गर्नु’भो। हामीले हाम्रो अडान कायमै राख्यौं। अन्तमा आफ्नो अधिकार प्रयोग गर्ने नगरप्रमुखले बताउनुभयो। सहमती भएन,” बैठकमा सहभागी कार्यसमिति सदस्यहरूले बताए।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। सो समितिले हिमानी सिमेन्ट ब्लक निजगढ र न्यू पाथीभरा सप्लायर्स हेटौंडाले पेश गरेको बोलपत्र कानून बमोजिम योग्य नभएको भन्दै निजगढ कार्यपालिकामा लिखित राय पेश गरेको छ।
आन्तरिक आय स्रोतको प्रमुख नदीजन्य पदार्थ ठेक्कालाई नगरपालिकाका जनप्रतिनिधिहरूले समयमैं उचित निकास दिनुपर्ने नगरका सचेत नागरिकहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here