बलिराम शुक्ला, बिरुवागुठी, १३ कात्तिक/
दशैं बिदापछि कात्तिक १२ गतेदेखि देशैभरका सामुदायिक विद्यालयको पठनपाठन शुरू हुने भनिए तापनि पर्सागढी नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरू अझैसम्म खुलेका छैनन् ।
केही दिनअगाडि शिक्षकहरूको आन्दोलनका कारण एक साताभन्दा बढी लामो बिदामा बसेका विद्यार्थीहरू दशैं बिदा सकिएलगत्तै १२ गतेदेखि पठनपाठन हुनुपर्नेमा विद्यालय नखुलेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।
पर्सागढी नगरपालिका शिक्षा शाखा प्रमुख देव गिरीले दशैं बिदा सकिएलगत्तै वर्षे बिदाबाट कट्टा हुनेगरी १२ देखि १६ गतेसम्म पाँच दिन बिदा थप दिएको बताए । तर उनले वर्षे बिदाबाट कट्टा हुनेगरी के कति कारणले बिदा दिएको हो खुलाउन चाहेनन् । उनले भने, “एक शैक्षिकसत्रमा ४५ दिनको वर्षे बिदा हुन्छ, त्यसमध्येबाट थप पाँच दिन कट्टा हुने गरी बिदा दिइएको छ ।” तर बिदा दिएको सार्वजनिक सूचना नगरपालिकाले निकालेको छैन ।
पर्सागढीका एकजना शिक्षकले नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका करीब डेढ दर्जन प्रधानाध्यापक तथा शिक्षकहरू कात्तिक ९ देखि १६ गतेसम्म भारतका विभिन्न धार्मिकस्थलका भ्रमणमा गएकाले पालिकाले मौखिक बिदा दिएको बताए ।
केही दिन अगाडि मात्र विद्यालय नै ठप्प पारी काठमाडौं आन्दोलनमा शिक्षकहरू गएपछि केन्द्रीय शिक्षक आन्दोलन सङ्घर्ष समितिले आन्दोलनको क्रममा बन्द रहेको विद्यार्थीहरूको पठनपाठन बिदाको दिन पढाएर पूर्ति गर्ने निर्देशन दिएको थियो । सङ्घको निर्देशनको उल्लङ्घन गरी प्रअ तथा शिक्षकहरूले विद्यालय बन्द गरी हजारौं विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको स्थानीयले गुनासो गरेका छन् ।