प्रस, निजगढ, २० भदौ/
नेपाल सितेरियो कराते सङ्घको दोस्रो महाधिवेशन बुधवार निजगढमा सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागि कराते, राष्ट्रका लागि कराते, अनुशासनका लागि कराते, आत्मरक्षाका लागि कराते, शान्ति र सामाजिक अभियानका लागि कराते, अध्यात्म विकासका लागि कराते’ मुख्य नारासहित कार्यक्रमका प्रमुख अतिथि महागुरु थानेश्वर राईले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा महागुरु राईले एकताका कराते खेलले संसारका अनेकौं राष्ट्रसँग राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नेपालको सान, मान, गौरव निकै बढाएको स्मरण गर्दै बीचमा केही वर्ष यस खेलको मर्म नबुझ्ने केही तत्वहरूले खेलको नाममा राजनीतिक खोल ओढेर करातेको बदनाम गरेकै कारण गतिशील हुन नसकेको आफूले महसूस गरेको बताए ।
आफ्नो शरीरका नसानसामा सितेरियो खेलको ऊर्जा अझै पनि ताजा रहेको महागुरु राईले बताए । खेलहरूलाई राजनीतिक दलका स्वार्थबाट टाढै राखी गुरु, प्रशिक्षक, खेलाडीहरू खेलप्रति निष्ठावान् भई निरन्तर अघि बढ्नुपर्ने बताए ।
एकता नै शक्ति हो, अनुशासन, गतिशीलता, विकासलाई शिरमा राखेर इमानदारीपूर्वक अघि बढ्दै जाने हो भने सितेरियो कराते खेलको भविष्य उज्ज्वल रहने आफू आशावादी रहेको उनले जिकिर गरे । स्वयंसेवकका रूपमा इमानदारीपूर्वक निरन्तर अघि बढिरहेका गुरु, प्रशिक्षकहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मौका दिनुपर्नेमा महागुरु राईको जोड थियो । राजनीतिक दलहरूको चाकडीबाट खेलाडीहरू टाढै रहनुपर्ने बताउँदै समय अनुसार क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रियस्तरका तालीमहरूको व्यवस्था गर्नुपर्ने महागुरु राईले भने ।
कार्यक्रममा युवराज लामाले दुई/चार जना राजनीतिक झोलेहरूका कारण यो खेल ओझेलमा पर्दै आएको बताउँदै त्यस्ता तत्वहरूलाई परास्त गर्दै खेलको विकासमा सबै एकजुट भएर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला लामाले खेलको विकासमा राज्यको ध्यान जान नसकेको बताइन् । राजनीतिमा होस् वा खेल वा अन्य कुनै क्षेत्रमा पनि अनुशासन पहिलो प्राथमिकता हुनुपर्नेमा त्यस्तो हुन नसकेकोमा चिन्ता जाहेर गरिन् ।
त्यस्तै, बाग्मती प्रदेशसभाका सदस्य सचिव सूर्यलाल भण्डारीले यस खेलका साथै अन्य खेलका लागि योजनाबद्ध ढङ्गले आफू लागिपर्ने जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष एवं नेपाल सितेरियो कराते सङ्घका संस्थापक अध्यक्ष दावा गुरुङले मुलुकमा व्यवस्था परिवर्तनसँगै कराते खेलमा केही ठगहरू राजनीतिक दलको आडमा हाबी भएकै कारण यस खेलले सोचे जति गति लिन नसकेको बताए । कुनै बेला शासकहरूले हामीलाई पटकपटक प्रयोग गर्दै उनीहरू राज्यसत्ताको बागडोर सम्हालिरहे तर खेल क्षेत्रलाई कहिल्यै स्वतन्त्ररूपमा अघि बढाउन उनीहरूले नचाहेको आरोपसमेत उनले लगाए ।
खेलको विकासका लागि खेलको मर्म बुझ्ने व्यक्तिहरू शासनसत्तामा नआउन्जेलसम्म खेल र खेलाडीको भविष्य उज्ज्वल हुन नसक्ने अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा खेलमा आबद्ध विभिन्न सङ्घका पदाधिकारीहरू राजीवकुमार थापा, किशोरप्रसाद भट्टराई, कन्हैयाभक्त राजभण्डारी, कृष्णप्रसाद गौतम, महेश महर्जन, रवि महर्जन, दिलीप राजभण्डारी, अमिर राई, दीपेश शाक्यलगायतको सहभागिता थियो ।
देशका सातै प्रदेशका चार सयभन्दा बढी गुरु, प्रशिक्षकलगायतको कार्यक्रममा सहभागिता रहेको जनाइएको छ । कार्यक्रमको सञ्चालन गजेन्द्रबहादुर खपाङ्गीले गरेका थिए ।