प्रस, सेढवा, १९ भदौ/
विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा दैनिक पठनपाठनमा नराम्रो असर परेको छ । केही दिनदेखि गर्मी बढेको, हावा नचल्दा उकुसमुकुस भएर विद्यार्थी तथा शिक्षकहरू कक्षाकोठामा बस्न नसक्ने अवस्था रहेको बताइएको छ ।
जिल्लाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालय १० बजेदेखि सञ्चालन हुने भएकाले अत्यधिक गर्मी बढेर पठनपाठन प्रभावित भएको छ । हावा नचलेको कारण कक्षाकोठामा उकुसमुकस हुने र पसिनाले निथ्रुक्कै भिज्ने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
जीराभवानी गाउँपालिका वडा नं १ स्थित शिवशक्ति प्रावि, शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाका अनुसार हावा नचलेर अत्यधिक गर्मी बढेपछि कक्षा सञ्चालन गर्न कठिनाइ भएको बताए । कक्षाकोठामा एउटा पङ्खा भएपनि गर्मीबाट राहत नहुँदा पालिकाको कार्यालयबाट अर्को पङ्खा ल्याइ जडान गरिएको बताए । प्राथमिक विद्यालयमा अध्ययनरत ससाना नानीबाबुहरू पसिनाले भिज्दा बढी जोखिम हुने प्रधानाध्यापकहरूकै भनाइ रहेका छन् । जगरनाथपुर गाउँपालिका वडा नं ३ मा रहेको बाबा वैद्यनाथ आधारभूत विद्यालय गढैयामा तीनवटा कक्षाकोठामा मात्र पङ्खा जडान भएको शिक्षकहरूले बताएका छन् । बाँकी चारवटा कक्षाकोठामा पङ्खा अभावका कारण कक्षाकोठामा बस्न नसक्ने अवस्था रहेको विद्यार्थीहरूले बताए । ती कक्षाकोठाहरूमा वाइरिङसमेत गरिएको छैन ।
यस सम्बन्धमा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले सो विद्यालयमा नयाँ भवन निर्माण भएकोले पङ्खाको व्यवस्था नभएको बताए । यसपालि बालमैत्री वातावरण बनाउने योजना रहेको उनले बताए ।
नेरामावि निचुटाका प्रधानाध्यापक श्याम घिमिरेका अनुसार एउटा कक्षाकोठामा एक सयभन्दा बढी विद्यार्थी हुने भएकाले सहनै नसक्ने उकुसमुकुस गर्मी हुने गरेको बताए । कक्षाकोठामा १०–१५ मिनेट पढाएपछि बस्न नसकेर कोठाबाहिर निस्किने गरेको प्रअ घिमिरेले बताए । कोठामा पङ्खा भएपनि भोल्टेज कम भएर पङ्खा पनि बिस्तारै चल्ने गरेको प्रअ घिमिरेले बताए ।
त्यस्तै, पटेर्वासुगौली गाउँपालिकाका शिक्षा शाखा संयोजक सोलेन्द्र पञ्जियारले गर्मीका कारण पालिकामा रहेका प्राथमिक विद्यालयहरूलाई बिहानी कक्षा सञ्चालन गर्न निर्देश गरेको बताए । अन्य विद्यालयहरूमा कक्षा १२ सम्म सञ्चालन रहेकाले दिउँसो कक्षा सञ्चालन भइरहेको संयोजक पञ्जियारले बताए ।