महानगरका घरहरू मेट्रिक प्रणालीमा आधारित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १८ भदौ/

वीरगंज महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ) थालनी गरेको छ । बढ्दो शहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले यहाँकहाँ घरहरूको सहज पहिचान गराउनका लागि मेट्रिक ठेगाना प्रणालीको सुरुआत गरिएको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले महानगरलाई व्यवस्थित र स्मार्ट सिटीका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

महानगरको आरयुडिपी प्रोजेक्ट अन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली शुरू गर्न लागिएको हो । गणकहरूले आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउनेछन् ।

वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगर प्रमुख सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणालीको सोमवार विधिवत्रूपमा उद्घाटन गरेका थिए ।

आदर्शनगरचोकदेखि ठाकुर राम बहुमुखी क्याम्पससम्मको सडकलाई पशुपति घोष मार्ग नामकरण गरेर सो बैंकमा २३० नम्बरको प्लेट टाँस गरिएको हो ।

सो स्थानका चोकदेखिको  दूरीको आधारमा घरको ठेगाना पत्ता लगाउने विधिलाई मेट्रिक ठेगाना प्रणाली भनिएको महानगरपालिकाले जनाएको छ । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घरहरूमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाशमान सिंह अमात्यले बताए ।

पहिलो चरणमा महानगरका वडा नं १ देखि १६ सम्म जिआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआइएस विज्ञ उमेश कुँवरले बताए । आवश्यक डाटाबेसका आधारमा सडकको शुरू बिन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बरका आधारमा नम्बरिङ गरिने पनि प्रस्ट्याए ।

आज नामकरण गरिएको पशुपति घोष मार्गमा सोमवार ५५ वटा घरमा नम्बरिङ गरिएको महानगरपालिका कार्यालयले जनाएको छ । १६ वटा वडाका करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने तयारी रहेको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गरिने प्राविधिक सल्लाहकार अमात्यले बताए ।

सडक/गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले घरहरू यो प्रणाली अनुसार सहजै पत्ता लगाउन सकिने जिआइएसका प्राविधिक सबइन्जिनीयर अर्चन आचार्यले बताए । उनले नम्बरिङ गरिएका घर, सडक र गल्लीका नाम गूगलमा समावेश गर्ने कार्य भइरहेको पनि बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।