महिलाहरूलाई रोजगार प्रदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नरेश यादव, पर्सागढी, ११ भदौ/

जीतपुरसिमरा उपमहानगरपालिका–७ का अध्यक्ष सुनीलकुमार गुप्ताले तालीम प्राप्त गरी घरमा बसेका २० जना महिलालाई रोजगारको वातावरण बनाइदिएका छन् ।

उनले वडा कार्यालय र लक्ष्मी प्राप्ति महिला विकास संस्थाको आयोजनामा एक महीने सिलाइकटाइ तालीम लिएर घरमा बसेका २० जना महिलाको लागि लेडिज टेलर सञ्चालनमा ल्याएका छन् ।

सोमवार एक कार्यक्रमबीच उनले लेडिज टेलरको उद्घाटन गरे । सीप सिकेर घरमा बसेकाहरूलाई रोजगार प्राप्त होस् र तालीमको उपयोगिता देखियोस् भन्ने उद्देश्यले टेलर सञ्चालनमा ल्याएको बताए ।

गत वैशाख १५ देखि जेठ १५ गतेसम्म दुई चरणमा २० जना महिलालाई वडा कार्यालयले लक्ष्मी प्राप्ति महिला विकास संस्थामार्फत सिलाइकटाइको तालीम दिइएको थियो ।

आजदेखि सञ्चालनमा आएको लेडिज टेलरका लागि वडाध्यक्ष गुप्ताले दुई थान सिलाइकटाइ मेशीन, दुई थान पङ्खा सहयोग गरेका छन् । उनले एक महीनाको सटरको भाडा पनि आफूले दिने घोषणा गरे ।

तालीम लिएका महिलाहरूले आआफ्नो सिलाइ मेशीन टेलरमा प्रयोग गरिरहेका छन् ।

तालीम लिएर घरमा बस्दा तालीमको उद्देश्य पूरा नहुने र महिला सशक्तीकरणमा टेवा पनि नपुग्ने दृष्टिगत गरी आफूले यो प्रयास गरेको वडाध्यक्ष गुप्ताले बताए ।

कार्यक्रममा वडा सदस्य नुरुल्लाह अन्सारी, अफताब आलम, लक्ष्मी प्राप्ति महिला विकास संस्थाकी अध्यक्ष रेखा चौधरी, सगरमाथा महिला सहकारी संस्थाकी अध्यक्ष सुशीला शर्मालगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत मुनिकुमारी न्यौपाने र देवीकुमारी सापकोटाले गरेका थिए भने सहजीकरण वडासदस्य सीता उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस