प्रस, रौतहट, २८ कात्तिक/
राष्ट्रिय वन क्षेत्रमा व्यक्तिविशेषको नाममा कायम रहेको जग्गाको श्रेस्ता बदर भई नेपाल सरकारको नाममा कायम गरिएको छ ।
गुजरा नगरपालिका साबिक गाविस रङ्गपुर अन्तर्गत १२२ बिघा राष्ट्रिय वन क्षेत्रको जग्गा विभिन्न २६ जना व्यक्तिको नाममा दर्ता भएकोमा सो जग्गाको श्रेस्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्ने डिभिजन वन कार्यालय रौतहटले निर्णय गरेको थियो ।
डिभिजन वन कार्यालय रौतहटको २०७६ पुस ७ गतेको पत्रमार्पmत जग्गाहरूको लगत कट्टा गर्न भनी मालपोत कार्यालय चन्द्रपुरमा सक्कलै श्रेस्ता पठाइएको थियो ।
लामो समयसम्म नेपाल सरकारको नाममा कायम हुन नसकेकोले कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी शाखा, मालपोत कार्यालय र डिभिजन वन कार्यालयको संयुक्त बैठकले अतिक्रमित राष्ट्रिय वन क्षेत्रको जग्गा यथाशक्य चाँडोभन्दा चाँडो लगत कट्टा गरी सोको जानकारी सम्बन्धित निकायहरूमा पठाउने निर्णय गरेको थियो । कात्तिक २६ गते जिल्ला सुरक्षा समितिको बैठकले कात्तिक २३ गतेको निर्णय यथाशक्य लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
मालपोत कार्यालय चन्द्रपुरको चनं १३०५ को पत्र अनुसार कात्तिक २७ गते राष्ट्रिय वन क्षेत्रको अतिक्रमित १२२ बिघा जग्गा व्यक्तिविशेषको नाममा दर्ता रहेकोमा सो जग्गाको श्रेस्ता बदर गरी नेपाल सरकारको नाममा कायम गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डिभिजन वन कार्यालय प्रमुख विनोद सिंह र मालपोत कार्यालयका प्रमुख भुपबहादुर बोगटीद्वारा जारी गरिएको संयुक्त हस्ताक्षरित पत्रमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here