प्रस, रौतहट, २५ कात्तिक/
रौतहट जिल्लामा विज्ञान समूहतर्फका प्रश्नपत्र निर्माणका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
राजदेवी नगरपालिकास्थित नेमधारी वासुदेव नमूना मावि मुडवलवामा आयोजित कार्यशाला गोष्ठीको उद्घाटन परीक्षा सञ्चालन समितिका संयोजक सुदामा राय यादवले गरेका थिए। कार्यक्रममा विद्यालयका प्रअ रविशङ्कर यादवले कार्यशालासम्बन्धी जानकारी गराएका थिए। उनले प्रश्नपत्र निर्माण विशिष्टीकरण तालिका, सम्बन्धित विषयको पाठ्यक्रम तथा रा.प. बोर्डबाट उपलब्ध स्रोत साधनको प्रयोग गरी प्रश्नपत्र निर्माण गरेर रौतहट जिल्लाको परीक्षा गुणस्तरीय कायम गराउन शिक्षकहरूको महत्वपूर्ण भूमिका हुने बताए। कार्यक्रममा विज्ञान समूहतर्फका विषयहरू भौतिक, रसायन, गणित, जीव विज्ञान तथा प्राविधिक धार एचबी समूह सिभिल, कम्प्युटर इन्जिनीयरिङतर्फका २/२ विषयका बारेमा कार्यशालामा जानकारी गराइएको थियो।