प्रस, वीरगंज, ३ जेठ/
बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका तत्कालीन दुईजना प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले झूटा बिल, भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानि पु¥याएको सम्बन्धमा सिम्रौनगढ नपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, इन्जिनीयर वीरेन्द्रप्रसाद साह र उपभोक्ता समितिका अध्यक्षसहित आठजनाविरुद्ध र सोही कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासैनीसँगै तीनजना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको कसूरमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको बताए ।
मधेस प्रदेश सरकारको अनुदान सहयोगमा २०७७/७८ मा सञ्चालित योजनाहरूमा बजेट निकासा गरेर योजना सञ्चालन एवं सम्पन्न नगरी रकम हिनामिना गरेको संसदीय अनुगमन विशेष समिति २०७५ मधेस प्रदेशको प्रतिवेदनको सम्बन्धमा अनुगमन गर्दा सो नगरपालिकाबाट आव २०७७/७८ मा दुईवटा योजनामा विनियोजित बजेटलाई आफूखुशी परिवर्तन गरी सिम्रौनगढ नपा–९ स्थित बसवरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नपा कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौताबमोजिमका शर्त पालना नगरी लागत अनुमान बमोजिम गर्नुपर्ने सबै काम नगरी नभएको काम भए गरेको भनी नापी किताब र बिलसमेत तयार पारेर कार्य सम्पन्न प्रतिवेदन प्रमाणित गरी झूटा बिल भरपाईको आधारमा १० लाख आठ हजार ९६५ रुपैयाँ बढी भुक्तानी दिएको र सोबाट कमिशन लिएको देखिएको हुँदा सोही अनुसार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताए ।