प्रस, वीरगंज, ३ जेठ/
नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारकाण्डहरूको निष्पक्ष छानबीनको माग गर्दै जनमत पार्टी, पर्साले बुधवार दोस्रो दिन घण्टाघरमा धर्नासहित विरोध प्रदर्शन गरेको छ ।
जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ नेतृत्वको विरोध कार्यक्रममा वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबीन हुनुपर्ने मागसहित मधेस प्रदेश सरकारबाट भएका साइकल वितरण, छोरी बीमा, पोखरी सौन्दर्यीकरणलगायतमा भएको भ्रष्टाचारको निष्पक्ष छानबीन हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले देखाएको कामको कदर गर्दै प्रदर्शनकारीरूले फूलको गुच्छा दिएर सम्मान गरेका थिए । उनीहरूले यो प्रकरणमा खुट्टा नकमाएर कार्य गर्न र प्रहरीको पक्षमा अहिले सम्पूर्ण नेपाली जनता रहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य डा अजय यादव, जिल्ला सहइन्चार्ज मुकेश द्विवेदी, सहसंयोजक रामजी रौनियार, हरिहर साह, कृष्ण पटेल, महिला नेत्री रेखा यादव, विद्यार्थी नेता राजु गिरी, अजय चौरसिया, बिराजु यादव, महादेव शर्मा, कृष्ण कुशवाहा , मनोज पटेल, गुडु तिवारीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सचिव राजनारायण मिश्रले गरेका थिए ।