प्रस, परवानीपुर, ३ जेठ/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाका लागि विशेष प्याकेजको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
बुधवार महोत्तरीको बर्दिबासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेटसम्बन्धी छलफल कार्यक्रममा उनले वीरगंज मधेस प्रदेशको एकमात्र महानगर भएकोले नयाँ नीति तथा कार्यक्रममा वीरगंज महानगरको लागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरे ।
उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितको टोलीलाई वीरगंज आएर स्थलगत भ्रमण र अवलोकन गर्न आग्रह गरे ।
सङ्घीय सरकारबाट देशका छवटा महानगरमध्ये सबैभन्दा कम बजेट वीरगंज महानगरले पाइरहेको बताए । वीरगंजलाई मधेस प्रदेशकै सम्मुन्नत र समृद्ध शहर बनाउन प्रदेश सरकारले पनि आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने बताए ।
कार्यक्रममा अर्थमन्त्री सञ्जय यादव, मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, मन्त्रालयका सचिवहरू, प्रदेशसभा सदस्यहरू, पालिकाका प्रमुखहरूलगायतको सहभागिता थियो ।