भीस्वा–सिकटा नाकामा खुलेयाम तस्करी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, भीस्वा, २ जेठ/

पर्सा जिल्लाको सिमावर्ति क्षेत्र छिपहरमाई गाउँपालिकाको भीस्वामा अहिले भन्सार छलि चोरी तस्करीका घटना बढ्दो छ ।

वीरगंजबाट आउने नेपाल लिभरका उत्पादनहरू भीस्वा नाका भएर भारत पुर्याउने कार्यले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । वीरगंजका गोपाल खेतानसंग खरिद गरेर यहाँका व्यापारीहरूले ठूलो परिणाममा नेपाल लिभरका उत्पादनहरू भारत पुर्याउने गरेका छन ।

भीस्वा र आसपासका नेपाली बजारमा नेपाल लिभरको उत्पादन बिक्री भएको देख्न पाइदैन । भीस्वामा देखावटीका लागि पसल, गोदाम राखिएको छ तर बिक्री छैन र सबै समानहरू भारत सिकटा बजार हुँदै विभिन्न स्थानमा पठाइन्छ । भारतमा हिन्दुस्थान लिभरबाट हुने उत्पादनहरू नै नेपाल लिभरबाट उत्पादन हुन्छ । तर भारतको मुल्यभन्दा नेपाली वस्तुको मुल्य सस्तो भएकोले एकदशक भन्दा बढी समयदेखी वीरगंजका व्यापारी गोपाल खेतानले विभिन्न व्यापारी मार्फत यो धन्दा फष्टाएका छन ।

अहिले खेतानसंग यहाँका केही व्यापारीले समान खरिद नगरी नेपाल लिभरको नारायणघाट डिलरबाट समान खरिद गरेर भीस्वा नाका हुँदै भारत पुर्याउने काम भएपछि खेतान प्रहरी मार्फत समान पक्राउने अभियानमा लागेका छन । भर्खरै वडा प्रहरी कार्यालय विर्ताले १४ लाखभन्दा बढीको नेपाल लिभरको समान आदर्शनगरबाट समातेर वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।

यसको अलावा मागनुसारको नेपाली वस्तु, तेश्रो देशको उत्पादनहरू मरिच, छोहडा, सुपारी आदि पनि यो नाका भएर भारत जाने गर्छ । भारतबाट पनि विद्युतिय सामान, खाद्यान्न, लत्ताकपडाहरू ठुलो परिणाममा भीस्वा बजार हुँदै नेपालका विभिन्न स्थानमा पुर्याउने काम हुन्छ । अहिले भीस्वाबाट ठूलो परिणाममा  दिनदहाडै धान र गहुँ नेपाल आइरहेको छ । साइकलमा सशस्त्र र जनपदको नाकै मुनीबाट ल्याउने र ट्रयाक्टरमा लोड गरेर वीरगंज लगायतको स्थानमा पठाउने काम भैरहेको छ ।

भिस्वा सीमा चौकीका वरिष्ठ प्रहरी नायब निरिक्षक सन्तोष केसीले खुला सीमाको दुहाई दिएर पन्छिन खोजे । उनको ठाडो जवाफ छ–खुला सिमा छ, हामी काँहाकाँहा हेर्ने ? यसैगरी सशस्त्र प्रहरी निरिक्षक हरिविष्णु थापाले पनि गैरजिम्मेवार जवाफ दिए । सबै कुराको निगरानी हामीबाट हुनसक्दैन उनले भने ।

यसअघि यो नाकाबाट एकवर्ष अघि तस्करी पुर्ण रूपमा रोकिएको थियो । त्यसबखत सशस्त्र र जनपद सो कार्यको जस लिन हानथाप गर्थे । अहिले अपजस दुवैले बोक्ने चाहेका छैनन् । प्रहरीको जेजस्तो प्रतिक्रिया रहेपनि भिस्वा–सिकटा नाकामा दोहोरो तस्करी पुनः पुरानै पारामा शुरू भएको कुरा भने सत्य हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।