प्रस, वीरगंज, २ जेठ/
वीरगंज महानगरपालिका अन्तर्गतको पुरानो माईराम पोखरी हालको चिल्ड्रेन पार्क अढाई महीनादेखि सञ्चालनमा आउन सकेको छैन । यो पार्क निर्माण भएको चार वर्षको अवधिमा पछिल्लोपटक महानगरको नयाँ नेतृत्व आएपछि मर्निङवाकको लागि सञ्चालनमा आएको थियो ।
२०७६ सालदेखि नै पार्क निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन ।
महानगरले पटक–पटक सञ्चालनको लागि सूचना जारी गरे पनि ठेक्का लाग्न सकेको थिएन । नयाँ नेतृत्व आएपछि मर्निङवाकको लागि बिहान खोलिएको चिल्ड्रेन पार्क २०७९ फागुन १६ गतेदेखि पुनः बन्द गरिएको छ । अतिक्रमण क्षेत्र खाली गराउने कार्य शुरू गरिएकोले पार्क बन्द गरिएको थियो ।
चार बिघामा रहेको माईराम पोखरी (चिल्ड्रेनपार्क) वरिपरिका ५७ जनाले अतिक्रमण गरेर १९ कठ्ठामा खुम्च्याएका थिए । करीब तीन बिघा जग्गा अतिक्रमित भएको दशकौं भइसक्यो तर अहिलेसम्म अतिक्रमणमुक्त हुन सकेको छैन । नगर पञ्चायतदेखि अहिले महानगर हुन्जेलसम्म पत्र काट्ने, चेतावनी दिने, नापनक्शा गर्ने र पछिल्लो केही वर्षदेखि तोडफोड कार्य भएको थियो भने हाल आएर डोजर चलाएर खाली गराइएको थियो ।
महानगरपालिकाले फागुन १६ गतेदेखि अभियान शुरू गरे पनि लगत्तै बन्द गरेको थियो । जसले गर्दा नयाँ नेतृत्व पनि विवादमा परेको छ । अतिक्रमण गर्नेहरूले महानगरपालिकालाई आफैं खाली गर्ने भनेर समय माग गरेको र अदालतबाट अन्तरिम आदेश जारी गराएर अतिक्रमणविरुद्ध अभियान रोक्न लगाएका थिए ।
यो कार्यमा महानगरपालिका एक महीना अल्झिएर बसेको र यसबीच आर्थिक लेनदेन भएको आरोप छ ।
महानगरपालिकाले पछिल्लोपटक नक्शापास नगरेर संरचना नबनाएको भनेर डोजर चलाएको थियो । डोजर चलाएर कम्तीमा एक बिघा जग्गा खाली गराएको नगरप्रमुख राजेशमान सिंह दाबी गर्छन् । अहिले अतिक्रमण खाली गराएको जग्गामा पर्खाल बनाउने र साजसज्जा गर्ने कार्य शुरू छ । गर्मीयाममा मर्निङवाकको लागि चिल्ड्रेनपार्कमा ठूलो सङ्ख्यामा मानिसहरू पुग्ने गरेका थिए । अहिले अढाई महीनादेखि पार्कमा निर्माण कार्य भइरहेकोले मर्निङवाकसमेत बन्द छ ।
नगरप्रमुखका प्रेस सल्लाहकार महेश दासले निर्माण कार्य भइरहेकोले अझैं दुई साता पार्क बन्द रहने र त्यसपछि पहिलेझैं खुला हुने बताएका छन् ।