चुनौतीविनाको जीवन के जीवन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

  • राजेन्द्रप्रसाद कोइराला

जीवन एउटा सुन्दर चुनौती हो । जीवनको बाटो सोझो, पूर्व निर्धारित र निर्मित हुँदैन, निर्माणाधीन हुन्छ । त्यहाँ असफलता नामको अनुभव  हुन्छ, दुविधा नामको दोबाटो हुन्छ, गति नामको साथी, सचेत व्यक्तिका  रूपमा परिवार, आम्दानीको रूपमा कर्म । यति हुँदाहुँदै पनि जगेडाको रूपमा प्रतिबद्धता र अठोट, इन्जिनको रूपमा सञ्चिति, बीमाको रूपमा विश्वास, अनि चालकको रूपमा आफ्नै सुकर्म भयो भने सफलता भन्ने ठाउँमा पुगिन्छ । जीवन सङ्घर्षपूर्ण छ, सङ्घर्षको बाटो पार गरेर आएको मनिसले नै जीवनमा आइपर्ने अप्ठ्याराहरूसँग मुकाबिला गर्न सक्छ । त्यसैले भनिएको छ –

सजिलो बाटोले दक्ष  चालक बनाउन सक्दैन ।

शान्त तलाउले दक्ष नाविक बनाउन सक्दैन ।

सफा आकाशले दक्ष पाइलट जन्माउन सक्दैन ।

समस्या नभोगेको मान्छे कहिल्यै पूर्ण बन्न सक्दैन ।

त्यसैले हामीले हाम्रो जीवन कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्न जरूरी छ । उद्देश्यविहीन र गन्तव्य निर्धारण नगरी हिंडेको बाटो जता पनि जान सक्छ र हामी नचाहेको ठाउँमा पुग्दछौं । हरेक मान्छे नयाँ बाटो निर्माण गर्न सक्षम छ । अरूले हिंडेको पुरानो बाटोमात्र हिंड्ने, नयाँ गन्तव्य नबनाउने मानिसभन्दा महामुर्ख को हुन सक्छ ? अरू हिंडेको बाटो हिंड्दा अरू जहाँ पुग्छन् आफू पनि त्यहीं पुगिन्छ । हामीले संसारलाई नयाँ आँखाले हेर्न सिक्नै पर्दछ । कुनै पनि समस्या उस्तै तहको सजगताबाट समाधान हुन सक्दैन । जसले यो सिर्जित गरेको छ उसले नै समाधान गर्न सक्दछ । त्यसैले नवीनतम मार्गको खोजीमा लाग्दा आनन्द र रोमाञ्चकता दुवै एकसाथ प्राप्त हुन्छ ।   

एकपटक मनन गरौं त ! नेपालमैं हाम्रै टोल छिमेकमा सङ्घर्षले माझिएका कैयौं सफल र असल मानिसहरू छन् । उनीहरूले आशावादी भएर नयाँ मार्गको खोजी गरे र सफलता पनि प्राप्त गरे । एकपटक झमक घिमिरेको जीवनी हेरौं, उनको सङ्घर्षलाई मनन गरौं । उनको लगनशीलता, प्रतिबद्धता, क्रियाशीलता र सिर्जनशीलता संसारका कुनै सामान्य व्यक्तिभन्दा कम छैन । आखिर नियतिले ठगे पनि कर्म र सोचको बलमा प्राप्त हुने नतीजालाई  त कसैले रोक्न सक्दो रहेन छ नि ! त्यसैले राष्ट्रकवि माधव घिमिरेले भनेका छन्–

ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल

सृजना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।

हामी सबैले आफ्नो जीवनबारे केही अध्ययन, मूल्याङ्कन र पुनरवलोकन गर्न जरूरी हुन्छ । मेरो विगत निरर्थक, सामान्य, उपलब्धिमूलक वा गौरवपूर्ण कस्तो रह्यो सिंहावलोकन गर्नुपर्दछ ।

हरेक मानिसमा मानवीय भावना र सफलताका सयकडौं खुडकिलाहरू रहेका हुन्छन् तर त्यसको अवलोकन चाहिं सकारात्मक प्रवृत्ति र व्यवहार भएकाले मात्र गर्न सक्छन् । यो यथार्थलाई बुझेर आफ्ना विगतका सुन्दर र सफल कुराहरूबाट उत्प्रेरणा लिन सकियो भने वर्तमान आफैं सुन्दर बन्छ । त्यस्तै वर्तमान लाई हामी कसरी लिन्छौं, त्यसबाट हाम्रो भविष्य निर्धारण हुन्छ । त्यसैले हामीले आफ्नो वर्तमानको पनि मूल्याङ्कन गर्न जरूरी छ ।

वर्तमानका सुन्दर कर्म र दृष्टिकोणहरू भविष्यका सञ्चित धन हुन् । हामी सबैले जीवनप्रतिको विश्वास के हो, यो जीवन मेरा निम्ति कति बोझिलो, सामान्य, ठीकै वा चुनौतीपूर्ण र रमाइलो वा पीडादायी रह्यो भन्ने कुराको विश्लेषण गर्दै सकारात्मक भावका साथ अगाडि बढेमा सुरक्षित गन्तव्य पुग्न सकिन्छ । वर्तमान सुन्दर भए भविष्य आफैं सुनिश्चित हुन्छ । बुद्धले पनि वर्तमान र भविष्यबारे यस्तो भनेका छन्–

अतीतको पिछा नगर ।

भविष्यको भ्रमजालमा पनि नफस ।

अतीत व्यतीत भयो

भविष्य अझै अनगत छ ।  

यहाँ, अहिले, यस क्षण जीवन जस्तो छ, त्यसैलाई धारणा गर, त्यसलाई सुन्दर बनाउने कोशिश गर । आजलाई सुन्दर बनाउन सकियो भने भोलि आफैं सुन्दर बन्छ । स्थिर र मुक्तभावमा नबाँच. भोलिको प्रतीक्षा गर्यौ भने विलम्ब हुनेछ । मृत्युले अचानक थिच्नेछ । त्यससँग हामीले के सम्झौता गर्न सक्छौ र ? सज्जनहरू त्यसैको आह्वान गर्दछन्, जो दिन र रात सचेतनावस्थामा जाग्रत रहन्छन् । जसलाई थाहा हुन्छ भविष्यको सुन्दर मार्ग के हो, तिनैले वर्तमानलाई सुन्दर बनाउँछन् ।

त्यसैले अभावप्रति गुनासोभन्दा समृद्धिको लागि चाहना, विगतको असफलताप्रति नैराश्यताभन्दा भविष्यको उप्लब्धिप्रति प्रतिबद्धता, घृणा र शत्रुता भन्दा प्रेम र मित्रता, फुटेको कर्म भन्दै भाग्यलाई सराप्नुभन्दा बाँकी जीवनको भाग्य निर्माण गर्न पाइला चाल्नु, अरूको प्रगतिको तुलना गर्दै त्यसप्रति ईष्र्या हुर्काउनु भन्दा आफ्नै जीवनको यात्राप्रति आत्मगौरवको अनुभूति गर्नु, अँध्यारो प्रति असन्तुष्टिभन्दा उज्यालोको आशा गर्नु नै श्रेयष्कर हुन्छ । आजसम्म गुनासोले प्राप्ति दिएको र प्रशंसा र प्रतिबद्धताले विनाश गरेको प्रमाण कहीं भेटिएको छैन । 

जीवन यात्रामा जे भेटिन्छ त्यसलाई माया गर्नु महानता हो । गल्ती वा कमजोरीलाई पनि अङ्कमाल गर्दा केही बिग्रँदैन तर त्यसबाट शिक्षा लिंदै सकारात्मक बाटोमा हिंड्न सकियो भने त्योभन्दा महत्वपूर्ण सिकाइ के हुन सक्ला ? नवीन सृजना गर्नु नै जीवनको लक्ष्य बनाइयो भने जीवनका सबै प्रश्नहरूको उत्तर हामीसँग हुनेछ । आज हामीले बाँचेको जिन्दगी कसैका लागि ठूलो सपना हो, त्यसैले आफ्नो जिन्दगीमा गर्व गरौं । हाम्रो गतिमा ईष्र्या गर्ने मानिस स्वाभाविकरूपमा हुन्छन् । उपलब्धि र आलोचना परस्पर असल मित्र हुन्, यी दुवै सँगसँगै हुन्छन । त्यसैले उपलब्धिमा आफ्नो आलोचना गर्नेहरूको पिछा नगरौं बरु कर्मको यात्रा निरन्तर अघि बढाऔं, उनीहरू आफैं पाखा लाग्छन् ।

दैनिक जीवनमा जब हामी आफ्नो विश्वास परिवर्तन गर्छाै, तब अपेक्षा पनि परिवर्तन गर्न सक्छौं । जब हामी हाम्रो अपेक्षा परिवर्तन गर्छाैं, तब दृष्टिकोण पनि परिवर्तन गर्न सक्छौं । जब हाम्रो  दृष्टिकोण परिवर्तन हुन्छ, व्यवहार पनि परिवर्तन हुन्छ । जब हामी व्यवहार परिवर्तन गर्छौं तब कार्य सम्पादनमा परिवर्तन पाउँछौं । जब हाम्रो कार्यसम्पादन परिवर्तन हुन्छ, तबमात्र हामी जीवन परिवर्तन गर्न सक्ने रहेछौं ।

जीवन गुनासोको पेटारो होइन, खुशी र आनन्दको सुन्दर बगैंचा हो, जहाँ लाखौं सुगन्धित फूलहरू सुगन्धको सार र सौन्दर्यको बहार लिएर लहलहाइरहेका हुन्छन् । यो सृष्टिमा हामी रुन आएका होइनौं । हामीलाई प्रकृतिले हाँस्न, खेल्न र जित्न पठाएको हो । शक्ति, समझदारी, सन्तुलन, सहकार्य, सन्तुष्टिजस्ता सम्पदा लिएर जन्मेका हामी अलापविलाप गरेर बाँच्नैपर्दैन । निराशाले शिकायत मात्र जन्माउँछ, शिकायतले प्रसन्नता हरण हुन्छ । प्रसन्नता हरण हुँदा निर्माणभन्दा विध्वंस बढी हुन्छ, विध्वंसले विनाशलाई सहयोग पुर्याउछ । त्यसैले प्रसन्नतालाई जीवनको संस्कार बनाऔं र सकारात्मक जीवन बाचौं । जीवनमा आइपरेका चुनौती स्विकारौं, जे हुन्छ राम्रै हुन्छ । जे भइरहेको छ, राम्रै भइरहेको छ भन्ने सकारात्मक धारणा राखेर अगाडि बढेमा सोही अनुरूप नतीजा पनि प्राप्त हुन्छ । यसै सन्दर्भमा एउटा प्रसङ्ग यस्तो छ–

टेक्ने लठ्ठी बनाउँदा राजा विराटको हात काटिएछ । हात काटेको देखेपछि मन्त्रीले “सरकार नाअत्तिनुहोस्, जे भयो राम्रो भयो” भनी उपचार गर्न थाले ।

यो सुनेर राजाले आश्चर्यभावले प्रश्न गरे–“के भनेको तिमीले, मेरो हात काटेको पनि राम्रो भयो र ?”

 “हो, सरकार, राम्रो भयो” मन्त्रीले भने ।

त्यसपछि राजालाई मन्त्रीमाथी शङ्का लाग्यो र सोच्न थाले । यो मन्त्री मेरो शुभचिन्तक होइन रहेछ । हात काट्दा त राम्रो भयो भन्छ, टाउको काटियो भने झन् राम्रो भयो भन्छ होला । त्यसैले यसलाई सजाय दिनुपर्छ भन्ने सोची उसलाई थुन्ने आदेश दिए ।

केही दिनपछि राजा सेनाको साथ घना जङ्गलमा शिकार खेल्न गए । शिकारको खोजी गर्दागर्दै राजा र सेना छुट्टिए । राजा अलपत्र हिंड्दै गर्दा राक्षससँग जम्का भेट भयो । राक्षसहरू वनदेवीलाई भोग नचढाई नखाने रहेछन् । राजालाई वनदेवीको मन्दिरमा लगे । तर भोग दिंदा शिकारमा कुनै खोट र चोटपटक हुनु वर्जित थियो । राजा विराटलाई भोग दिने क्रममा कुनै खोट छ कि भनेर हेर्दा हातमा काम्रो बाँधेको देखियो र भोगका लागि उपयुक्त नभएको भनी राक्षसले छोडिदिए ।

त्यसपछि राजाको आँखा खुल्यो । मन्त्रीले ‘जे भयो, राम्रै भयो’ भनेको ठीक रहेछ । बेकारमा उनलाई थुनेछु भनी पछुतो लाग्यो । घर फर्केपछि सबै कुरा सुनाई मन्त्रीसँग माफी मागे । मन्त्रीले  पुनः भने–“पीर नगर्नु होला सरकार, जे भयो राम्रै भयो ।”

राजाले सोधे– तिमीलाई थुनेको पनि राम्रै भयो ?

 “हो सरकार राम्रो भयो”– मन्त्रीले जवाफ दिए ।

राजाले प्रश्न गरे कसरी ?

मन्त्रीले भने–“सरकार तपाईंले मलाई नथुनेको भए म पनि तपाईंसँगै हुन्थें । हामी दुवै राक्षसको कब्जामा पथ्र्यौं । तपाईंको त खोट थियो, तपाईं बाँच्नुहुन्थ्यो म भने मर्थें । त्यसैले जे हुन्छ राम्रैका लागि हुन्छ । जे भइरहेको छ राम्रै भइरहेको छ । जे हुनेवाला छ राम्रै हुन्छ भनेको हुँ सरकार ।” मन्त्रीका यस्ता कुरा सुनेपछि चित्त बुझाएका राजाले मन्त्रीलाई श्याबासी दिंदै छाडिदिए र उनलाई साथ लिएर हिंड्न थाले ।  

सिकाइ ः कहिलेकाहीं आफूभन्दा सानाले भनेको कुरा पनि मान्नुपर्दछ । आफ्नो चित्त सफा राखौं । सबैको भलो चिताऔं । सुविचार राखौं, जे हुनु छ, भएर नै छाड्छ । हामीले हुने कुरालाई टार्न सक्दैनौं । जे छ त्यसैमा सन्तोष गर्न सिक्नुपर्दछ । भविष्यको किन चिन्ता गर्ने ? बरु वर्तमान राम्रो बनाए भविष्य त्यसै सुन्दर भएर आउँछ । कतिपय कुरा तत्कालका लागि नमीठा र असान्दर्भिक लागे पनि अन्ततः ती समयानुकूल पनि हुन सक्दछन् । एकै वचनमा, एक भेटमा, एकै प्रसङ्गमा कसैको मूल्याङ्कन गरी सजाय वा पुरस्कार दिइहाल्नुहुँदैन ।

त्यसैले सकारात्मक मान्छेले जीवनलाई फूल देख्छ भने नकारात्मक मानिसले काढा । मानिसको जीवन समुद्र जस्तो हो– धेरै जटिल, गहिरो, अमूल्य, शक्तिशाली र प्रेरणादायी । लाखौं विचारहरूको स्रोत, लाखौं खुशी र पीडाहरूको पनि स्रोत, मायाको स्रोत, सारा सन्तुष्टिको स्रोत । यही अथाह स्रोतभित्रका हामी मानव हाँसेर बाँचौं, कर्म गरेर बाचौं, अरूलाई बचाएर बाचौं । अरूलाई बचायौं भने हामीलाई उनीहरूले नै बचाउने छन् । तर हामी सामान्य भन्दा सामान्य अर्थात् दैनिक जीवनमा आफैंले गर्न सक्ने काम पनि गर्न हिच्कन्छौं, अरूको भर पर्छौं । हामी परनिर्भरतामा विश्वास गर्छौं । यसै विषयमा एउटा सानो प्रसङ्ग–     

एकपटक एकजना मान्छे गाँधीजीलाई भेट्न आए । उनले लगाएको लुगा ठाउँ ठाउमा उध्रेको थियो । गाँधीका आँखा उध्रेको ठाउँमा पुगे । ती मानिसले लाज मान्दै भन्यो–“हजुर, पत्नी माइत गएकी थिइन्, त्यसैले यो सिलाउनै पाइनँ ।” गाँधीजी मुसुक्क हाँसे । सियो–धागो निकाले र एकैछिनमा आफैंले सिइदिए । आगन्तुक लाजले भुत्तुक्क भए । गाँधीजी सँग आँखा जुधाउनै सकेनन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।