प्रस, वीरगंज, २० कात्तिक/
वीरगंज महानगरपालिकाले कात्तिक २३ गतेदेखि कक्षा ८ देखि १० सम्मको अध्यापन शुरू गर्ने निर्णय गरे पनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू धमाधम सञ्चालन हुँदैछन्।
महानगरपालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको भेलाले कात्तिक २३ गतेदेखि संस्थागत तथा सामुदायिक विद्यालय ८ देखि १० कक्षासम्म सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। विद्यालय सञ्चालनको लागि महानगरले मापदण्ड निर्धारण गरे अनुसार सोको पालना गरी सञ्चालन हुनुपर्ने महानगरपालिकाले निर्णय गरेको थियो।
अहिले महानगरपालिकाले तोकेको मापदण्ड अनुसार केही सामुदायिक विद्यालय सञ्चालनमा आएका छन् भने केहीले कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी विद्यालयलाई विसङ्क्रमित, सरसफाइ गर्नेजस्ता कार्य शुरू गरेका छन्। वीरगंज–४ स्थित रघुवीर राम महावीरप्रसाद त्रिजुद्ध मावि र सुन्दरमल रामकुमार कन्या मावि आज बिहीवारदेखि सञ्चालनमा आएको वडाध्यक्ष्F जगत साह कानूले बताए। उनले दुवै विद्यालयमा वडासमितिको तर्फबाट एक/एकवटा सेनिटाइज मेशिन जडान गरिएको जानकारी गराएका छन्। विद्यार्थीहरू प्रवेश गर्दा सेनिटाइजर प्रयोग गरी विद्यालय छिर्ने व्यवस्था गरिएको उनले बताए।
महानगरमा संस्थागत विद्यालयहरू भने केही महीना अगाडिदेखि नै सञ्चालनमा छन्। पोशाक नलगाएर संस्थागत विद्यालयहरूले सबै तहको कक्षा सञ्चालनमा ल्याएको स्रोतले जनाएको छ। केही संस्थागत विद्यालय मात्र अहिले सञ्चालनमा छैनन्। महानगरपालिकाले कात्तिक २३ गतेदेखि सञ्चालन अनुमति दिएको कारण सोही समयदेखि सञ्चालन गर्ने तयारी उनीहरूको छ।
वीरगंज महानगरपालिकाले कक्षा ८ देखि १० सम्मको कक्षा सञ्चालन गर्ने र सोको एक सातासम्म अनुगमन गरी कक्षा ६ र ७ को पठनपाठन सुचारु गर्ने विषयमा निर्णय गर्ने यसअघिको बैठकमा सहमति भएको थियो। कक्षा १ देखि ५ सम्मको अध्यापन भने यथावस्थामा सञ्चालन नगर्ने बैठकमा निर्णय भएको हो। बैठकमा नगरप्रमुख विजय सरावगीले कोरोनाको खोप नआएसम्म कक्षा १ देखि ५ सम्मको पठनपाठन सञ्चालन नहुने प्रस्ट्याएका थिए।