प्रस, परवानीपुर, २० कात्तिक/
वीरगंज–पथलैया–अमलेखगंज क्षेत्रका प्रहरीको सेटिङमा पर्साको झबराहा र अमलेखगंज क्षेत्रबाट अवैध घरेलु मदिरा वीरगंजसम्म आइपुग्ने गरेको छ।
रातिको समयमा ट्रक, बस र ट्याङ्करमा प्लास्टिकको झोलामा पोका पारी बोराका बोरा अवैध मदिरा वीरगंजसम्म आउने गरेको ओसारपोसार गर्ने एक गिरोह स्रोतले बताएको छ।
अमलेखगंजका २० र झबराहाका २० कारोबारीले अवैध मदिराको ओसारपोसार गर्ने गरेको बताइएको छ। इप्रका अमलेखगंज, पथलैया, सिमरा, जीतपुर, पर्साका प्रहरी चौकी मिलन चोक, प्रहरी चौकी परवानीपुर, अस्थायी प्रहरी पोस्ट गण्डकको मिलेमतोमा नियमितरूपमा अवैध मदिराको ओसारपोसार भइरहेको कारोबारीहरू बताउँछन्।
एउटा चौकीलाई मासिक ५ हजार रुपैयाँसम्म बुझाएपछि कडाइका साथ सवारीसाधनको चेकजाँच नहुने गरेको र सहजै मदिरा अमलेखगंज र झबराहाबाट वीरगंज आइपुग्ने गरेको छ। पहिले राजमार्गका प्रहरी चौकीले अवैध मदिरा बरामद गरे तापनि अहिले लकडाउनयता राजमार्गमा अवैध मदिरा बरामद भएको घटना शून्य प्रायः छ।
अमलेखगंज र झबराहाको मदिरा सिमरा, जीतपुर, परवानीपुर, गण्डक बहुअरी, वीरगंजका ससाना भट्टीहरूमा बोतलको एक सयदेखि १२० रुपैयाँसम्मममा बिक्री हुने गरेको छ। झबराहाबाट अवैध मदिरा साइकलबाट पनि वीरगंजसम्म पु–याइन्छ।