प्रस, सेढवा, १९ कात्तिक/
पर्साको ग्रामीण क्षेत्रमा रबीबालीलगायत सुर्तीखेती गर्नेहरू अहिले फेरि मलको अभाव झेलिरहेका छन्।
सुर्ती, मुसुरो, तोरी खेतीको लागि डिएपी, युरिया र पोटास आवश्यक हुन्छ। तर यसै बेलामा अहिले किसानहरूलाई यी मलहरूको अभाव भएको छ।
जीराभवानी गाउँपालिका–५ हरैया निवासी जयनारायण दासले खेतीपातीको बेलामा मलको अभाव भएको बताए। उनले नेपाली बजारमा किसानले मल नपाएपछि भारतको इनर्वा, भङ्गाहा गएर मल ल्याइरहेको बताएका छन्। किसानहरूले ल्याउने मलमा सीमामा बसेका दुवैतर्फका प्रहरीले दुःख दिने गरेको उनको भनाइ छ।
भारतीय सीमामा नेपाली किसानहरूलाई खासै दुःख नदिए पनि नेपालमैं सशस्त्र प्रहरीको दुःख झेल्नुपरेको र प्रतिबोरा रु ५० दिनुपरेको उनले आरोप लगाए।
तस्करी गर्नेहरूसँग प्रतिबोरा लिएसरह सशस्त्रले किसानहरूसँग पनि रकम असुलेर मात्र मल ल्याउन दिइरहेको उनको भनाइ छ। किसानहरूले १/२ बोरा ल्याउँदा सशस्त्रले रोक नलगाउनुपर्नेमा तस्करहरूसरह किसानसँग पनि रकम लिएर छाड्ने गरेको बताए। साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीमा अहिले मल वितरणमा रोक लागेको छ। जीराभवानी गाउँपालिका–४ सुपौली कृषि सहकारी संस्थाका सञ्चालक दीपक चौधरीले दुवै कम्पनीले मल अभाव बताउँदै वितरणमा रोक लगाएको बताए। उनले कम्पनीमा सूचीकृत सहकारीहरूलाई भने मल वितरण भइरहेको जानकारी गराएका छन्।
गापा र नगरपालिकाले सहकारीहरूलाई सूचीकृत हुन सूचना निकालेको छ। संस्थाको प्रमाणपत्र, वडाको सिफारिश, गत आवको लेखापरीक्षण प्रतिवेदन, प्यान दर्ता, गत वर्षको करचुक्ता, सञ्चालक समितिको निर्णय, अनुभव, कार्यक्षमताको विवरण, १ सय किलो तौल गर्ने मेशिन, गोदाम, सूचना प्रविधि तथा भौतिक पूर्वाधारका विवरण बुझाएकाहरूलाई मात्र सूचीकृत गर्ने प्रावधान रहेको छ।
सूचीकृत नभएको कारणले पनि थुप्रै संस्थाले कम्पनीबाट मल पाउन सकेका छैनन्। सूचीकृत सहकारीहरूले मल सञ्चय गरी गोदाममा भण्डारण गरी लुकाएका छन्। यस्ता सहकारीहरूले किसानहरूलाई मल आवश्यक भएको बेलामा महँगो मूल्यमा बिक्री गर्छन्। सूचीकृत संस्थाको गोदाममा प्रशासनले छापा मार्ने हो भने मल अभाव भएको बेलामा ठूलो परिमाणमा मल बरामद हुन सक्ने स्रोतले जनाएको छ।