प्रस, गरुडा, १९ कात्तिक/
साहित्यकार तथा पूर्व शिक्षक रामसुन्दर श्रेष्ठको देहावसान भएको छ। रौतहटको गढीमाई नपा २ समनपुरका स्थायी बासिन्दा श्रेष्ठको मङ्गलवार राति १ बजे ७६ वर्षको उमेरमा चन्द्रनिगाहपुरस्थित अस्पतालमा देहावसान भएको हो।
करीब चार दशक शिक्षण पेशामा गुजारेका श्रेष्ठ समनपुरको इतिहासको बारेमा पनि विशेष ज्ञान राख्दथे। बज्जिका र नेपाली भाषाको साहित्यमा कलम चलाएका श्रेष्ठको बज्जिका भाषामा विभिन्न पत्रपत्रिकामा कविता तथा गीत र भजनहरू प्रकाशित छन्।
बज्जिका, नेपाली र नेवारी भाषाका जानकार श्रेष्ठ स्थानीय संस्कृतिका साथै नेवारी संस्कृतिका पनि जानकार थिए। श्रेष्ठको देहावसानपछि उनका धेरै शिष्यले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।