प्रस, परवानीपुर, १८ कात्तिक/
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलको गृह जिल्ला बारामा निर्माण भइरहेको पौने १४ करोड रुपैयाँ लागतको पुल निर्माण कार्य अहिले अवरुद्ध भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका– २० रमौली बस्ने प्रभा कोइरिनले सो निर्माण कार्य अवरुद्ध गराएकी हुन्। पुल निर्माण गर्दा व्यक्तिगत सम्पत्तिमा क्षति पुग्ने भन्दै उनले निर्माणाधीन पुलको काम यथाशीघ्र रोक्न उच्च अदालत अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरेकी छन्।
गत असोज २८ गते अदालतले काम बन्द गर्न परमादेश जारी गर्दै यही कात्तिक २३ गते दुवै पक्षलाई छलफलको लागि अदालतमा डाँकेको छ।
चालू आव २०७७/७८ मा रु १३ करोड ७० लाखमा अढाई वर्षमा काम सम्पन्न गर्ने गरी सपना/मेरिना कन्स्ट्रक्शन जेभी हेटौंडाले ठेक्का सकार गरेको छ। मन्त्रालयद्वारा लगाइएको ठेक्का २०७६ असारमा ठेकेदार कम्पनीसँग सम्झौता भएर काम शुरू भएको थियो। रमौलीघाट निर्माण योजना अन्तर्गत जीतपुर–इनार्वासिरा–कलैया सडकखण्डमा पर्ने दुधौरा खोलामा पुल बनेमा सो क्षेत्रको यातायात सहज हुने भएकोले भौतिक पूर्वाधार विकासमन्त्री सोनलले यो योजना अघि बढाएका थिए।
तर स्थानीयको मुद्दा हाल्ने प्रवृत्तिले काममा ढिलाइ भइरहेको मन्त्री सोनलले बताए। यता, मुद्दा हाल्ने प्रभा कोइरिनका छोरा अनिल कुशवाहाले पुल अन्तै बनाउनुपर्ने माग राखेका छन्। “मेरो जग्गा अतिक्रमण भएको छैन, तर त्यो ठाउँमा पुल बन्यो भने मेरो जग्गातर्फ खोलाको बहाव क्षेत्र मोडिन्छ,” उनले प्रस्ट्याए, “मेरो ३ बिघा ५ कट्ठा जग्गा पुलको उत्तरतर्फ छ, पुल निर्माण भएमा सो जग्गा बगरमा परिणत हुने निश्चित छ, सोको क्षतिपूर्ति कसले दिने ?
यस विषयमा भौतिक पूर्वाधार विकास कार्यालय वीरगंजका इन्जिनीयर विवेकानन्द झाले कात्तिक २३ गतेको पेशीबाट यसको समाधान हुने विश्वास व्यक्त गरे। उनले भने उजूरीकर्ताको जग्गा निर्माणाधीन पुलभन्दा २० फिट उत्तरमा पर्छ। पुल निर्माण सार्वजनिक हितका लागि हो र यसमा कुनै व्यक्तिको जग्गा परेको पनि छैन। अब सम्भावित क्षतिको आँकडा गरेर विकासको काम अवरोध गर्न खोज्नु न्यायसङ्गत नहुने उनको तर्क छ। उनले सार्वजनिक हितको विषयमा हातेमालो गरेर अगाडि बढ्दा सबैको हित हुने बताए।