प्रस, वीरगंज, १८ कात्तिक/
    सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले वीरगंज महानगरका विभिन्न वडामा दुई चरणमा ठेक्का दिएकोमा पहिलो चरणको ठेक्काले गति लिन सकेको छैन भने दोस्रो चरणको ठेक्का तीव्र गतिमा अगाडि बढिरहेको छ।
    सघन शहरी तथा भवन निर्माण कार्यालयले पहिलो चरणमा वीरगंजको १७ वटा स्थानमा २७ किलोमिटर कालोपत्र र नाला निर्माणको ठेक्का ७५ करोड रुपैयाँमा दिएको थियो। सो ठेक्का सकार गर्ने पप्पु कन्स्ट्रक्शनसहितका तीनवटा कन्स्ट्रक्शनको ज्वाइन्ट भेन्चरले अहिलेसम्म ४५ प्रतिशत मात्र कार्य सम्पन्न गरेको छ। ३० फिट चौडा सडक निर्माण गर्ने क्रममा पप्पुलगायतको ज्वाइन्ट भेन्चरले वीरगंज महानगरको पिपरा, हरपतगंज, सुगौली, अपौनी, मनिहारी, इनर्वा, लक्ष्मणवा, श्रीपुर, परवानीपुर, श्रीसियालगायतका क्षेत्रमा काम गरिरहेको पप्पु कन्स्ट्रक्शनका सञ्चालक सुमित रौनियारले बताए।
    उनले सडक र नाला निर्माणको लागि साइट तयार गर्ने क्रममा सडकबाट अतिक्रमण नहटाइएको र विभिन्न ठाउँमा अहिलेसम्म ६६० वटा विद्युत् पोल नहटाउँदा कामले गति लिन नसकेको बताए। उनले विद्युत् पोल हटाउनको लागि प्राधिकरणले रु १ करोड ४ लाख माग गरेको तर सो रकम ठेक्कामा नपरेकोले यस सम्बन्धमा कार्यालयले अहिलेसम्म निर्णय नगर्दा ढिला भएको बताए। उनले कार्यालयका निमित्त प्रमुख इन्जिनीयर रञ्जन दास कार्यालयमा कम बस्ने गरेकाले निर्णय गर्न ढिला भएको आरोप लगाए। उनले पोल र सडक अतिक्रमण नहटाइएकोले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएको बताए।  
    सञ्चालक रौनियारले वीरगंज–१४ पिपरामा पिच सडक निर्माणको लागि बेस बनाएको एक वर्ष भइसक्दा पनि चारवटा विद्युत् पोल नहटाइएको कारण वडाध्यक्षले कालोपत्र गर्न रोक लगाएको बताए। यसैगरी, पिपरामैं तीन फिटको सडक रहेको ठाउँमा तीस फिट सडक निर्माणको ठेक्का भएको र कार्यालयले अतिक्रमण हटाउन नसकेको कारण ढिला भएको बताए।
    यसैगरी, दोस्रो चरणको रु ८२ करोडको निर्माण ठेक्का महावीर कन्स्ट्रक्शनले लिएको छ। आदर्शनगर क्षेत्र, नेशनल मेडिकल कलेजदेखि नगवा, रानीघाट पुलदेखि पद्मरोड, भन्सार कार्यालयदेखि नगवा, लक्ष्मणवादेखि सेन स्कूलसम्म, अलौं, अठराहा, सुगौलीलगायतका ठाउँ गरी २३ किलोमिटर सडक निर्माण, नाला र केही ठाउँमा फूटपाथमा रेलिङ लगाउने काममध्ये ७० प्रतिशत सम्पन्न भएको महावीर कन्स्ट्रक्शनका साइट इन्चार्ज सुशान्त योञ्जनले बताए। उनले ठेक्काको अवधि माघ मसान्तसम्म रहेकोमा सो अवधिअगावै कार्य सम्पन्न गर्ने दाबी गरे। महावीर कन्स्ट्रक्शनले नै अहिले आदर्शनगर क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्र गर्ने, फूटपाथ र रेलिङ बनाउँदै छ।
    पहिलो चरणमा काम सम्पन्न हुन नसकेको ठाउँको बजेट आदर्शनगर क्षेत्रमा लगाइ सघन शहरी तथा भवन निर्माण कार्यालयले दोस्रो चरणको निर्माण कार्य शुरू गराएको हो। आदर्शनगर चोकदेखि कैलाशचोकसम्म र गीता मन्दिरदेखि माईस्थान चोकसम्मको सडक अहिले कालोपत्र हुँदैछ।
    यो ठेक्कामा नभएको र पछि थपिएको क्षेत्र हो। दोस्रो चरणको कामको अवधि अढाई वर्ष रहेको र तोकेको समयमा काम सम्पन्न गर्ने साइट इन्चार्ज योञ्जनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here