प्रस, जीतपुर, १७ कात्तिक
पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत निषादले निषाद जातिको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकासको लागि जातिगत एकजुटता हुनुपर्ने बताएका छन् ।
सोमवार नेपाल निषाद सङ्घ, रौतहटको जिल्ला सम्मेलनमा प्रमुख अतिथि निषादले सरकारविरुद्ध सशक्त सङ्घर्ष र आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले प्राचीनकालदेखि नेपालको खोला, नदीनजीकमा बस्दै आएको निषाद जातिले व्यवस्था परिवर्तनमा शहादत दिएको बताए । उनले अहिलेको सरकारले निषाद जातिलाई उपेक्षा गरेको आरोप पनि लगाए ।
स्थानीय नेता हरि सहनीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन बैधनाथ सहनीले गरेका थिए । कार्यक्रममा राहुल मुखिया, जयरामी सहनी, तेजप्रकाश निषाद, किशोरी मुखिया, हरि सहनी, बैजनाथ सहनी, रङ्गीलादेवी सहनी, अनिषराज सहनीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा निषाद समुदायका अग्रज पेशाकर्मीहरूलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । सो क्रममा प्रतीककर्मी गम्भीरा सहनी पनि सम्मानित भएका थिए ।
सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको र बन्दसत्र जारी रहेको आयोजक रघुनाथ सहनीले बताए ।