प्रस, वीरगंज, १६ कात्तिक/
नेकपा पर्सा क्षेत्र नं ४ का अगुवा कार्यकर्ता भेला तथा शोकसभा जीराभवानी गाउँपालिकाको सुपौली भवानीपुरमा सम्पन्न भएको छ।
सो क्षेत्रका अगुवा कार्यकर्ताहरूको अग्रसरतामा भएको भेलामा सहभागीहरूले विन्ध्यवासिनी घटनामा ज्यान गुमाएका सो पार्टी पर्सा जिल्ला कमिटी सदस्य तथा विन्ध्यवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। पार्टी एकतापछि निर्वाचन क्षेत्रीय कमिटी नबनिसकेको र जिल्ला कमिटी चरम विवादमा फसेको बेला विन्ध्यवासिनी घटना भएपछि स्वस्फूर्तरूपमा क्षेत्रका पार्टी नेता, कार्यकर्ताहरू भेला भएको नेकपा पर्सा जिल्ला कमिटी सदस्य रामकाजी श्रेष्ठले बताए।
सभाका वक्ताहरूले विन्ध्यवासिनी घटनालाई दुःखद र अकल्पनीय दुर्घटना भन्दै घटनाका दोषीहरूलाई कडा कारबाई गर्नुपर्ने तर निर्दोष व्यक्तिलाई कुनै पनि हालतमा फसाउन नहुने बताएका छन्। संवेदनशील घटनामा केही पक्षले निहित स्वार्थ साँधेर खेल्न खोजेको भन्दै त्यसो नगर्न वक्ताहरूले खबरदारीसमेत गरेका थिए।
पर्सा निर्वाचन क्षेत्र नं ४ स्थित ६ वटै पालिका कमिटीका अध्यक्ष, सचिव, जिल्ला कमिटी सदस्य, स्थानीय तहमा नेकपाका निर्वाचित जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रममा नेकपाका नेता एवं संविधानसभा सदस्य जयप्रकाश थारूले दशजना दोषी उम्किएकोभन्दा एकजना निर्दोष व्यक्ति फस्नु न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुने भन्दै यस्ता घटनाहरूमा पार्टीका नेता, कार्यकर्ताले विवेकपूर्ण र सत्यतथ्यमा आधारित निष्पक्ष भूमिका निर्वाह गर्नुमैं सङ्गठनको दीर्घकालीन हित हुने बताए।
नेकपा पर्साका अगुवा तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले घटनाको प्रत्यक्ष भिडियो सार्वजनिक भइसकेको र प्रत्यक्षदर्शीहरूसमेत साक्षी रहेको अवस्थामा दोषी पहिचान गर्न कठिन नरहेको जिकिर गरे। दोषीमाथि
कारबाई हुनुपर्ने र निर्दोषलाई फसाउन नहुने माग लिएर आफू पनि शव जुलुसमा सहभागी भएको स्पष्ट पार्दै अध्यक्ष मियाँले हाल प्रहरीले दर्ता गरेको नामावलीमा घटनामा संलग्न नरहेको व्यक्ति पनि परेको बताए।
कार्यक्रममा कालिकामाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, जीराभवानी गाउँपालिका अध्यक्ष रामप्रीत महतो, जिल्ला कमिटीका सदस्य तथा कालिकामाई पालिका कमिटीका सचिव शम्भु पाल, छिपहरमाईका पार्टी सचिव अनुप तिवारी, जीराभवानी पालिका कमिटी अध्यक्ष शशिकपूर थारू, ठोरीका पार्टी अध्यक्ष खगेन्द्र श्रेष्ठ, जिल्ला कमिटी सदस्य लालबहादुर श्रेष्ठ, क्षेत्रका अगुवा राजबली यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
सम्पन्न भेलाले निर्वाचन क्षेत्रस्तरीय पार्टी कार्यक्रमहरू गर्दा क्षेत्रीय कमिटी नबनेसम्म संयुक्त पालिका कमिटीले गर्ने साथै जिल्ला कमिटीका अध्यक्ष र सचिवबाहेक गुट–उपगुट खडा गर्न उद्धत केन्द्रीय नेताहरूलाई संयुक्त पालिका कमिटीको इजाजतबेगर क्षेत्रभित्र कुनै पनि कार्यक्रममा सहभागिता नगराउने सम्बन्धमा छलफल भएको कार्यक्रमका सहभागीहरूले बताएका छन्।