छाडा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्ध खोप

प्रस, वीरगंज, ३० फागुन/

वीरगंज महानगरपालिकाले महानगरमा रहेका छाडा कुकुरको  बन्ध्याकरण गरी तथा रेबिजविरुद्धको खोप दिने कार्य शुरू गरेको छ ।  वीरगंजमा छाडा कुकुरहरू बढेसँगै महानगरले पहिलोचोटि रेबिजविरुद्धको खोपसहित बन्ध्याकरण गर्न शुरू गरेको हो ।

नगरप्रमुख राजेशमान सिंहले बढ्दो छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको बताए ।

महानगरका छाडा कुकुरलाई सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण कार्य गरिने दी जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले बताए । उनले आज ४० वटा कुकुरको बन्ध्याकरण गरी रेबिजविरुद्धको खोप लगाइएको बताए । पहिलो चरणमा करीब एक हजार कुकुरको बन्ध्याकरण गरिने लक्ष्य रहेको उनले बताए । सरकारले सन् २०३० सम्म नेपालबाट रेबिज उन्मूलन गर्ने अभियान चालेको र सोही अभियान अन्तर्गत आजदेखि वीरगंज महानगरमा रेबिजविरुद्धको खोप दिन थालिएको बताए । यसअघि पर्सागढी नगरपालिकाले नगरका छाडा कुकुरहरूलाई बन्ध्याकरण गरी रेबिजविरुद्धको खोप दिएको थियो ।